कृषि सहकारी संस्थामा अधिकारी

सुर्खेत : महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड बराहतालको अध्यक्षमा खगीसरा अधिकारी चयन भएकी छन् । संस्थाको शनिवार भएको नवौं चुनावी वार्षिक साधारणसभाबाट अधिकारी सर्वसम्मत् अध्यक्षमा चयन भएकी हुन् । संस्थाको ११ सदस्यीय समितिको उपाध्यक्षमा पार्वती कार्की, कोषाध्यक्षमा ललिता खड्का चयन भएका छन् । सदस्यहरूमा केशरी मगर, प्रेमकुमारी सिंजाली, सुशीला कँडेल, निर्मला दर्लामी, गोमा सारु, रत्ना सुनार, तल्सीकुमारी वि.क. र सावित्रा गन्द्रमा चयन भएको संस्थाका प्रबन्धक दिलिपकुमार सारुले जानकारी दिए । त्यस्तै संस्थाको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा ललिता कार्की चयन भएकी छन् । तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा निशा गुरुङ र भावना हमाल चयन भएको उनले जनाए ।

संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा कुल १० करोड २० लाख ८२ हजार चार सय २८ रूपैयाँको कारोबार गरेको छ । त्यस्तै एक वर्षमा कुल आम्दानी ८७ लाख ९२ हजार ६३ रूपैयाँ भएको र खर्च ७१ लाख ११ हजार ३ सय ९७ रूपैयाँ भएको प्रबन्धक सारुले जानकारी दिए । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसीले सरकारको नीति अनुरूप सहकारी संस्थाले कृषि सम्बन्धी कार्य गर्दै आएकोमा खुशी व्यक्त गरे । सबैले कृषिमा लगानी गर्नुपर्ने धारणा समेत बिसीको रहेको थियो । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले कृषिमा लगानी गरे विकास गर्न सहज हुने बताए । उनले सहकारीसँगै हातेमालो गरी कृषिका कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । साधारणसभा संस्थाका अध्यक्ष निर्मला दर्लामीको अध्यक्षतामा सम्पन्न भएको हो ।