यसकारण भिड्दैछन् देउवा र पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन अब तीन महिना मात्रै बाँकी छ । वर्तमान कार्यसमितिको पदावधि सकिनै लाग्दा देउवाले आफूलाई एकाएक क्रियाशील बनाएका छन् । पार्टीका २५ वटा महत्वपूर्ण विभागलाई बढाएर ४१ वटा बनाउन देउवाले बिहीवारको कार्यसमितिको बैठकमा पेलेरै प्रस्ताव गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पार्टी कार्यालयमा उपस्थित भए पनि बैठकमा सहभागी भएनन् । महामन्त्री शशांक कोइरालाले पारिवारिक कारण देखाएर बैठकमा सहभागिता जनाएनन् । पौडेल गुटका अधिकांश नेताले बैठक बहिस्कार गरे ।

पार्टीका प्रमुख नेताहरू सहमत नहुँदा–नहुँदै देउवाले जसरी आफैंमा शक्ति केन्द्रिकृत गर्न पटक–पटक एकतर्फी निर्णय गरिरहेका छन्, त्यसले पार्टीभत्रको आन्तरिक लोकतन्त्रलाई लगभग धुलिसात पारिदिएको नेताहरू स्वयम् बताउँछन् । कांग्रेस अहिले भाँडभैलो र भद्रगोलमा रुमल्लिएको छ । पौडेल र सिटौला समूहको मागलाई बेवास्ता गरी देउवाले एकलौटी बहुमतका आधारमा धमाधम प्रस्ताव पेश गरेपछि कांग्रेसमा आन्तरिक कलह छरपस्ट भएको हो ।

विधानअनुसार अब सभापति शेरबहादुर देउवाले पार्टीलाई जम्माजम्मी तीन महिनामात्रै नेतृत्व गर्न पाउने हुन् । इतर पक्षले नयाँ नेतृत्व चुन्ने महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग राखिरहेको छ । ‘हाम्रो माग अरु केही होइन, आगामी महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्छ भनेका हौं’, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘सभापतिज्यूले जे कुरालाई पनि महाधिवेशनबाट आफू निर्वाचित हुने रणनीतिका रूपमा प्रयोग गरिरहनु भएको छ, उहाँ व्यक्तिगत फाइदामा केन्द्रित भएपछि हामी चुप लागेर बस्न सक्दैनौँ ।’ पौडेलले यसो भनिरहँदा उनी आफैं पनि पार्टीका महत्वपूर्ण विभाग गठनमा आधा भाग पाउनुपर्ने अडानमा छन् ।

उता तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला समूह पनि केही विभाग आफ्नो पक्षले पाउनुपर्ने अडानमा छ । देउवा भने पार्टीको विदेश विभाग पौडेल पक्षलाई दिएर अरु सबै आफैं राख्ने रणनीतिमा छन् । कांग्रेसले पार्टीका महत्वपूर्ण विभागहरू लथालिंग रहेको अवस्थामा नयाँ विभाग थप्न लागेको छ । यसका लागि सभापति देउवाले हरप्रयास गरिरहेका छन् । कांग्रेसमा केन्द्रीय नेतृत्वदेखि भ्रातृ संघ–संस्थामा भाँडभैलो छ । गुट–उपगुटको राजनीति घट्ने भन्दा बढिरहेको छ । नेता पौडेल गुटको राजनीति मौलाउनुमा पार्टी सभापति शेरबहादुर देउवामाथि आरोप थोपर्छन् । ‘पार्टी सभापतिकै कारणले गर्दा कांग्रेसमा गुटउपगुट मौलाएको छ,’ पौडेलले भने, ‘हामीले अधिवेशनको कार्यतालिका सार्वजनिक गरौं, भ्रातृसंस्थाको विवाद अन्त्य गरौं भन्दा नटेर्ने । हामीले पार्टीलाई सुदृढीकरण गरौं भनेका हौं ।’

कार्यकाल लम्ब्याउने दाउ विगतमा पनि कांग्रेसमा केन्द्रीय समितिको पदावधि सकिएकै समयमा चुनाव भएको छैन । सभापतिले विधानमा उल्लेख भएको समयावधि थप गर्न पाउने व्यवस्थालाई देउवाले पनि प्रयोग गर्ने छनक दिइसकेका छन् । पौडेल पक्षका नेताहरूले देउवा अधिवेशन नगराई कार्यकाल थप्ने रणनीतिमा लागेको शंका गरेका छन् । ‘सभापतिज्यू चुनाव महाधिवेशन नगरी कार्यकाल लम्ब्याउने दाउमा हुनुहुन्छ,’ रामचन्द्र पौडेल पक्षका एक नेताले भने, ‘नत्र अहिले भएका विभाग सक्रिय बनाउन नलागेर नयाँ विभाग थप्न किन लागेको ? महाधिवेशनको कार्यतालिका ल्याउन ढिला भइसक्यो ।’ उनले अहिले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरे अर्को वर्ष पनि महाधिवेशन नगर्ने मनस्थितिमा सभापति देउवा रहेको आरोप लगाए ।

देउवा पक्षका नेताहरू जसरी पनि पेलेर जाने मनस्थितिमा रहेको स्वीकार्छन् । ‘पार्टीको विधानमा जे–जे गर्न मिल्छ, त्यो सभापतिले गर्नुभएको हो,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पहिले के–के भयो त्यो थाहा भएन, अहिले पार्टीलाई हानी पु¥याउने गरेर सभापतिज्यूले केही निर्णय गर्नुभएको छैन । प्रस्ताव पनि ल्याउनु भएको छैन ।’ पार्टीका भ्रातृ संस्थामा उस्तै भद्रगोल कांग्रेसको बीऊ मानिने नेपाल विद्यार्थी संघ भद्रगोल छ । कांग्रेसको पार्टी कार्यालय अगाडि दिनहुँजसो नेविसंघका कार्यकर्ताको धर्ना र नाराबाजी चलिरहेको छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १३:५७