ए–डिभिजन लिग सुरु

काठमाडौं : सहिद स्मारक ए–डिभिजन लिग फुटबल शनिवारदेखि सुरु भएको छ । लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद् सुरुवात गरेको हो ।

गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक–एक गोल गरे । आधा दर्जन राष्ट्रिय टिमका खेलाडीसहित मैदान उत्रिएको मछिन्द्रले ३०औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट अग्रता बनाएको थियो । खेलको ५०औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई २–० को जीत दिलाए । दिपकले तीन डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए । युवा खेलाडीले भरिएको ब्रिगेडले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि दोस्रो हाफमा केही राम्रो अवसर खेर फालेका थिए ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १३:३२