दृष्टिविहीन विद्यार्थीका दुःख
पूर्णबहादुर खड्का,
सुर्खेत : दैलेखको भगवतीमाई गाउँपालिकाको कट्टीबाट पढ्नकै लागि सुर्खेतस्थित शिखर माध्यमिक विद्यालय रामघाटमा आए विष्णुप्रसाद दाहाल । आयस्तर कम भएका परिवारका उनी कक्षा ९ मा अध्ययनरत छन् । माध्यमिक शिक्षा जसरी पनि पार गर्ने हुटहुटी छ, उनमा । अध्ययनकै क्रममा उनले विद्यालयमा कम्ता आरोह–अवरोह छिचोल्नु परेको छैन ।
जन्मदै दृष्टि गुमाएका उनलाई विद्यालयमा अन्य विद्यार्थीसँगै एउटै कक्षामा पढ्नुपर्छ । यसैले निकै असहज छ । कक्षा कोठामा शिक्षक आएर कालोपाटी वा सेतोपाटीमा लेखेको त्यति बेला थाहा हुन्छ जतिबेला शिक्षक बोल्छन् । शिक्षकले नबोलेर कालोपाटीमा लेख्दा कक्षा कोठामा के भएको छ भन्नेसमेत उनलाई थाहा हुँदैन । कालोपाटीमा लेखेको आफैसँग बसेका अन्य विद्यार्थीहरूले सार्ने गरे पनि शिक्षकले नबताउँदासम्म लेख्न नसकिने दाहाल बताउँछन् । ‘सबै विद्यार्थी साथीसँग बस्दा एक हिसाबले राम्रो पनि लाग्छ । एक हिसाबले अलि गाह्रो हुन्छ,’ उनले भने, ‘सर कक्षामा आएर लेख्न थाल्नुहुन्छ । हामीलाई थाहै हुँदैन के लेख्नुहुन्छ, के लेख्नुहुन्छ । सरले भनेपछि र साथीहरूलाई सोधेपछि मात्रै थाहा हुन्छ ।’
शिक्षकले बोलेर लेखाउँदा लेखाउँदै पनि छुट्ने उनीहरूको गुनासो छ । ‘हामीले खोपेर लेख्नुपर्ने हुन्छ । अरु साथीहरूले लेख्दा सजिलै र छिटो हुन्छ । सरले छिटोछिटो भन्नुहुन्छ । हामी लेख्दा लेख्दै ढिला हुन्छ कतिपय त छुट्छन्’ उनले भने, ‘दृष्टिविहिन विद्यार्थीका लागि दृष्टिविहिनमैत्री संरचना र छुट्टै कक्षाकोठा भए हामीलाई सजिलो हुने थियो । अहिले कक्षाकोठा र शौचालय जानुप¥यो भने साथीहरूले लैजानुपर्ने अवस्था छ ।’
कर्णाली प्रदेशमा अध्ययनरत दृष्टिविहिन र अन्य विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन गराउँदा दृष्टिविहिन विद्यार्थीले समस्या भोग्नुपरेको छ । दृष्टिविहिन विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र छुट्टै कक्षाकोठाको व्यवस्था हुन नसक्दा अध्ययन गर्न समस्या हुने गरेको हो । ‘दृष्टिविहिन विद्यार्थीलाई पढ्नै गाह्रो । हामीले प्रयोग गर्ने शैक्षिक सामग्री पनि जहाँकही पाइँदैन’ कक्षा ११ मा अध्ययनरत लालबहादुर बोगटीले भने, ‘विद्यार्थीका लागि एक जना स्रोत शिक्षकको व्यवस्था त छ । तर, जति विद्यार्थीका लागि समय दिनुपथ्र्यो त्यत्ति दिनुहुँदैन । हामीले आफैँ शैक्षिक सामग्री ल्याउन सक्ने कुरा भएन । सबै व्यवस्था स्रोत शिक्षकले गर्नुपर्ने हो तर, त्यो हुन सकेको छैन ।’
अध्ययनमा सकस र सास्ती झेल्दै आएका दृष्टिविहिन यी विद्यार्थी प्रतिनिधिमूलक मात्रै हुन् । कर्णाली प्रदेशका दश जिल्लामा साधारण विद्यालयमा अध्ययन गर्ने दृष्टिविहिन विद्यार्थीका समस्या यस्तै छन् । प्रदेशमा सुर्खेत, जुम्लालगायत जिल्लामा अध्ययन गर्ने झण्डै एक सय ८१ जना दृष्टिविहिन विद्यार्थीहरूले दैनिक समस्या भोग्नुपर्ने बाध्यता छ । विद्यार्थीलाई अध्ययन गर्न मात्र नभइ दृष्टिविहिन शिक्षकले अध्यापन गराउन समेत समस्या भोग्नु परेको छ । शिखर मावि रामघाटमा एक दशक अघिदेखि अध्यापन गराउँदै आएका दृष्टिविहिन शिक्षक चन्द्रमणि पोखरेलले पनि विद्यार्थीको जस्तै समस्या भोग्दै आएका छन् । ‘दृष्टिविहिन विद्यार्थीलाई ब्रेललिपिबाट पढाउनु पर्छ भने साधारण विद्यार्थीलाई कालोपाटीमा लेखाउनु पर्ने हुन्छ’ उनले भने, ‘आफू दृष्टिविहिन भएकाले ब्रेललिपिको प्रयोग गर्ने हुँदा दृष्टिविहिन विद्यार्थीलाई पढाउन सजिलो हुन्छ । अन्य साधारण विद्यार्थीलाई अलि गाह्रो हुन्छ ।’
यता, विद्यालय प्रशासनले भने दृष्टिविहिन विद्यार्थीलाई कुनै समस्या नहुने गरी आफूहरूले व्यवस्थापन गरेको दावी छ । ‘एउटै कक्षाकोठामा भए पनि खासै समस्या हुने गरी राखिएको छैन’ विद्यालयका सहायक प्रधानाध्यापक दलबहादुर शाहीले भने, ‘हामीले दृष्टिविहिन विद्यार्थीको हकमा एकजना सहयोगी विद्यार्थीलाई भनिराखेका हुन्छौँ । सरहरूले लेखाउँदा होस् या अन्य कुनै क्रियाकलाप गर्दा होस् कुनै अप्ठ्यारो नहुने गरी हामीले व्यवस्था मिलाएका हुन्छौँ ।’
प्रकाशित मितिः २६ मंसिर २०७६, बिहीबार १३:१५
साझा बिसौनी ।