आधा दर्जन डेरी अनुगमन

सुर्खेत : वीरेन्द्रनगरका आधा दर्जन बढी डेरीको बुधवार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नेपाल सरकारले जारी गरेको दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्बन्धी निर्देशिका–२०७५ बमोजिम डेरीहरू वीरेन्द्रनगर बजार क्षेत्रमा सञ्चालनमा नरहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।

उनले एक हप्ताभित्रमा निर्देशिका अनुसार डेरी सञ्चालनमा नल्याए कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘दुध नतताई बेच्न नपाइने निर्देशिकामा उल्लेख छ’ उनले भने ‘डेरी उद्योगले पास्चराईज विधिद्वारा प्लाष्टिकमा राखी उद्योगको नाम समेत उल्लेख गरेको हुनुपर्छ ।’ दुध तताई दुधमा भएको किटाणु नष्ट गरेर मात्रै खाद्य प्लाष्टिकमा प्याक गर्ने उद्योग मात्रै वीरेन्द्रनगरमा रहने उनले बताए । केही नमुना डेरी समेत वीरेन्द्रनगरमा सञ्चालनमा भए पनि अधिकांश दर्ता नभइ जथाभावी सञ्चालनमा रहेकोले अनुगमनको पाटो बलियो बनाउँदै लैजान उनले बताए । यो सँगै विभिन्न मिठाई पसल, होटेल तथा निजी स्वास्थ्य क्लिनिकहरू समेत प्रशासनले अनुगमन गर्दै आएको शर्माले जानकारी दिए ।

उता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले व्यवसायीलाई पहिलो चरणमा तालिम दिइ निर्देशिका समेत अध्ययन गर्न दिइएकोले अब कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिए । उनले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्बन्धी निर्देशिका २०७५ ले उपभोक्ताको हितमा भएको बताए । निर्देशिका बमोजिम उद्योगहरू नचले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने थापाले बताए । अनुगमनमा वीरेन्द्रनगर नगरपालिकाको समेत सहभागिता रहेको थियो ।