सभामुखका लागि दौडधुप


काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अघिवेशन बोलाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको चर्चा चुलिन थालेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा गएसँगै नयाँ सभामुखको लागि नेकपाभित्र चर्चा सुरु भएको हो ।

राष्ट्रपतिले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन बोलाएपछि नेकपाभित्र सभामुखका लागि दाबेदारको दौडधुप चलेको हो । पुस ४ गते सभामुखको टुङ्गो लाग्ने भएपछि सभामुखको दाबी गरिहेका नेताहरू आफूनिकट नेताहरूसँगको परामर्शका लागि सक्रिय भएका छन् । सभामुखको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको स्रोतको भनाई छ । सभामुखका लागि नेकपाभित्र धेरै नेताहरू आकांक्षी छन् ।

ओली र प्रचण्ड पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका लागि सहमतिनजिक पुगेको उनीहरूनिकट स्रोत बताउँछ । तर, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट नहट्ने अडान कायमै राखेपछि ओली–प्रचण्ड सभामुखको लागि नयाँ गृहकार्यमा जुटेका हुन् । उपसभामुख तुम्बाहाम्फेलाई यसअघि नै प्रचण्ड र ओलीले राजीनामा गर्न आग्रह गरेका थिए । राष्ट्रपतिकोसमेत साथ पाएर तुम्बाहाम्फेले आफ्नो आडान कायमै राखेपछि सभामुखमा नयाँ अनुहार ल्याउने रणनीतिमा पुगेका हुन् दुई अध्यक्ष । पार्टी एकताअघि तत्कालीन माओवादी केन्द्रको भागमा रहेको सभामुख पद अहिले पनि आफूनिकटकै नेतालाई ल्याउने रणनीतिमा प्रचण्ड लागेका छन् । तत्कालीन माओवादी केन्द्रले सभामुखको पद आफ्नो भागबाट गुमाउन चाहेको छैन । तर प्रधानमन्त्री ओली पनि सभामुखमा आफ्ना विश्वासपात्र ल्याएर कार्यपालिकालाई व्यवस्थापिकाबाट भइरहेको अफ्ठेरो सहज बनाउने पक्षमा छन् ।

उपसभामुख तुम्बाहाम्फेले आफ्नो अडान नछाडेपछि विकल्प खोज्न थालिएको छ । ओली र प्रचण्ड दुवैको सहमतिमा नेम्वाङलाई बनाउने तयारीमा पुगे पनि उपसभामुखले आफ्नो दाबी कायमै राख्दा सभामुख पद नेकपाभित्र थप पेचिलो बन्दै गएको छ । उपसभामुखको अडानपछि प्रचण्डले पनि आफूनिकट अग्निप्रसाद सापकोटालाई सभामुखमा ल्याउने कसरतमा जुटेको उनीनिकट स्रोतको भनाई छ । तत्कालीन माओवादी केन्द्रको भागमा रहेकाले अध्यक्ष प्रचण्डले आफूनिकटका सापकोटालाई सभामुखमा ल्याउन चाहेका हुन् । तत्कालीन पूर्वमाओवादीबाट सभामुख पदका लागि सापकोटासँगै देव गुरुङ, ओनसरी घर्ती मगर र पम्फा भुसालको नाम चर्चामा छ । उनीहरूले सभामुखका लागि आफ्नो दावी गरिहरेका छन् ।

उपसभामुखलाई लिएर नेकपाभित्र फरक खालको भनाइ नेताहरूले राख्दै आएका छन् । पूर्वमाओवादीले सभामुखमा आफ्नो दाबी गरिहेको बेलामा नेकपाभित्रकै अर्को धारका नेताहरूले पनि सुवास नेम्वाङ अनुभवी भएकाले पनि उनैलाई बनाउनुपर्ने अडान लिएका छन् । यद्यपि, उपसभामुखले आफ्नो दावी कायमै राखेपछि यतिबेला नेकपाभित्र सभामुख कसलाई बनाउने अन्योल कायमै छ ।