आश्रमलाई सहयोग

सुर्खेत : कृषि बजार सुर्खेतका व्यवसायीहरूले मानव सेवा आश्रमलाई दैनिक उपभोग्य वस्तुहरू सहयोग गर्ने भएका छन् । बजार व्यवस्थापन समितिको समन्वयमा व्यवसायीहरूले हरेक दिन आश्रमलाई सहयोग गर्ने निर्णय गरेका हुन् । समितिका अनुसार अब हरेक दिन व्यवसायीहरूले आश्रमका लागि तरकारी सहयोग गर्ने छन् भने हरेक हप्ता फलफूल सहयोग गर्ने जनाइएको छ । व्यवसायीहरूलाई सामाजिक कार्यमा जोड्नका लागि यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रवल शाहीले बताए । उनले सामाजिक सेवाका लागि खोलिएको आश्रमलाई सबै मिलेर सहयोग गर्नुपर्नेमा समेत जोड दिए । यसैगरी अध्यक्ष शाहीले व्यक्तिगत रूपमा आश्रमलाई नगद सहयोग गर्ने भएका छन् । उनले मासिक दुई हजार एक सय रूपैयाँ आश्रमलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।