कर्णलीमा हवाई उडन नियमित बनाउन पहल

जुम्ला : आन्तरिक उडानतर्फ कर्णाली प्रदेशमा अब नियमित उडान हुने भएको छ । कर्णाली प्रदेशका १० जिल्लाका ५ विमानस्थलहरूमा कम्तीमा साताको चार दिन उडान भर्ने गरी कर्णाली प्रदेश सरकार र नेपाल वायु सेवा निगम तथा तीन निजी वायुसेवा कम्पनीहरूबीच सहमति जुटेको हो ।

कम यात्रुको घाटा आफैंले बेहोरेर भए पनि कर्णाली प्रदेशमा नियमित उडान भराई छाड्ने प्रदेश सरकारको नीति छ । यसका लागि प्रदेश सरकारले निजी तथा सरकारी वायुसेवा कम्पनीहरूसँग गृहकार्यसमेत भइरहेको छ । यसअघि आन्तरिक उडानतर्फ अधिकांश कम्पनीहरूले पश्चिम क्षेत्रका लागि नेपालगन्जमा उडान भर्दै आइरहेका छन् । बुद्ध एयर, समिट एयर, सीता एयर, तारा एयरलगायतका निजी कम्पनीहरूले यस क्षेत्रमा उडान भर्दै आइरहेका छन् ।

लागतका हिसाबले र यात्रुका हिसाबले नेपालगन्ज नै फाइदा भएकाले निजी कम्पनीहरू सुर्खेतभन्दा नेपालगन्जतर्फ आकर्षित छन् । कर्णाली प्रदेशको सुर्खेतमा बुद्ध एयरले मात्र उडान भर्दै आइरहेको छ । तर, अफसिजनमा भने प्रदेशको मुख्यकेन्द्र राजधानी सुर्खेतमा फलाइटको चाप बढ्ने गरेको छ । अहिलेका प्रदेश राजधानी सुर्खेतदेखि प्रदेशका विभिन्न स्थानीय विमानस्थलहरूमा नियमित उडान भर्ने तयारी भएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । सुर्खेत–जुम्ला नियमित उडान गर्ने भनिए पनि निजी एयरलाइन्सले मानेका थिएनन् । अब समन्वय भएको छ । जुम्लासहित हुम्ला, मुगु, डोल्पामा नियमित उडान गर्ने उनको दाबी छ । ‘प्रदेशका सबै विमानस्थलहरूमा नियमित उडान हुनुपर्छ’, मन्त्री बुढाले भने, ‘अब उडानको (लो–अकुपेन्सी) यात्रु कम भए पनि घाटाको पूर्ति प्रदेश सरकारले गर्नेछ ।’

मन्त्री बुढाका अनुसार सुर्खेतदेखि प्रदेशका विभिन्न क्षेत्रमा उडान भर्ने जहाजको सीट फुल नभए प्रदेश सरकारले खाली सीटको क्षतिभरण गर्नेछ । अहिले प्रदेशमा सिजनमा उडान नपाउने र अफसिजनमा जहाजहरू प्रदेश राजधानीमा थुप्रिने समस्या छ । जे–जति घाटा आए पनि कर्णालीका सबै विमानस्थलमा नियमित उडान गरी आउने पर्यकटहरूलाई राहत दिने लक्ष्य पर्यटन मन्त्रालयको छ । सोही अनुसार कर्णालीमा उडान गर्ने पाँच निजी एयरलाइन्ससँग सम्झौता भएको छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७६, बुधबार ०८:५०