नेपाललाई कीर्तिमानी ५१ स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)मा नेपालले कीर्तिमानी ५१ स्वर्णपदक जितेको छ । नेपालले इतिहासमै सर्वाधिक स्वर्ण हात पार्न सफल भएको हो । यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यो नै नेपाले अहिलेसम्म जितेको सबैभन्दा बढी स्वर्ण थियो । सन् २०१९ मा आइपुग्दा आफैंले आयोजना गरेको सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको हो ।

नेपालका लागि कराँतेको एकल कातामा मण्डेकाजी श्रेष्ठले पहिले स्वर्ण जिताएका थिए । त्यसपछि कराँतेकै पुरुषतर्फको टिम कातामा मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर पनि नेपाललाई स्वर्ण जिताए । कराँतेको महिलातर्फ टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण जित्दा कराँतेकै ५५ केजी तौल समूहमा लक्ष्मण तामाङ, ८४ केजीमाथिमा विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनी अनु अधिकारी, ६७ केजीमा नविन रसाइली, ६८ केजीमा सुनिता महर्जन र ६८ केजीमा अनुपमा मगरले स्वर्ण हात पारे ।
तेक्वान्दो पुम्सेमा २३ देखि २९ वर्षमा कमल श्रेष्ठ, १७ देखि २३ वर्षमा सिना मादेन लिम्बु, २३ देखि २९ वर्षमा पार्वती गुरुङ, २९ वर्ष माथि आयशा शाक्य र सञ्जिकुमार पाण्डे, महिला टिमतर्फ १७ देखि २३ वर्षमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, २३ देखि २९ वर्षमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई, तेक्वान्दो ४६ केजी मुनीमा काजल श्रेष्ठ, ६८ केजी मुनी वीरबहादुर महराले नेपालका लागि स्वर्ण थपे ।

त्यसैगरी नेपाललाई स्वर्णपदक जिताउनेहरूमा ट्रायथलनमा सोनी गुरुङ, डुवाथोलनमा हिमाल टमाटा, उसु थाउलोमा विजय सिन्जाली, सुस्मिता तामाङ र दिपक हमाल, एथ्लेटिक्स १० हजार मिटरमा सन्तोषी श्रेष्ठ, साइक्लिङ डाउनहिलमा राजेश मगर र निश्मा श्रेष्ठ, तेक्वान्दो ६२ केजी मुनीमा संगीता बस्याल, ८७ केजीमा सक्षम कार्की तथा उसु नान्दौमा निमा घर्तीमगर रहेका छन् ।

पौडीका विभिन्न विधामा गौरिका सिंहले चार स्वर्ण जित्दा साइक्लिङ क्रस कन्ट्रीमा लक्ष्मी श्रेष्ठ, र बुद्धिबहादुर तामाङ, तेक्वान्दो ८७ केजीमा भुपेन श्रेष्ठ, भारोत्तोलन ५९ केजीमा सन्जु चौधरी, उसु ५६ केजीमा जुनी राई, एथ्लेटिक्स पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्की, गल्फमा सुवास तामाङ, गल्फ टिम इभेन्टमा सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ, भारोत्तलनमा विकास थापा, म्याराथनमा किरणसिंह बोगटी कुस्ती ५५ केजीमा संगीता धामी, जुडो ५२ केजी मुनीमा देविका खड्का, बक्सिङ ५४ केजीमा मिनु गुरुङ, ६४ केजीमा भुपेन्द्र थापा, जुडो ७८ केजीमा पुनम श्रेष्ठ र बक्सिङ ६० केजी पुरुषतर्फ सनिल शाहीले नेपाललाई स्वर्ण दिलाउँदै ५० स्वर्णको कीर्तिमान बनाए ।

त्यसैगरी सागको अन्तिम दिन मंगलवार पुरुष फुटबलमा स्वर्णपदक जित्दै नेपालले स्वर्ण संख्या ५१ पु¥याएको हो । चौथो पटक सागमा स्वर्ण जित्ने क्रममा नेपाली फुटबल टिमले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यो सँगै १३ औं साग मंगलवार नै समापन गरिएको छ । भारतले एक सय ७२ स्वर्ण, ९३ रजत र ४५ कास्य गरी तीन सय १० वटा पदक जित्यो र पहिलो स्थान हासिल गर्न सफल भयो । ५१ स्वर्ण, ५९ रजत र ९४ वटा कास्य गरी दुई सय चार वटा पदक जितेर नेपाल दोस्रो भयो । श्रीलंकाले ४० स्वर्ण, ८२ रजत र एक सय २८ वटा कास्य गरी दुई सय ५० वटा पदक जित्यो । पाकिस्तानका खेलाडीले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य गरी एक सय ३१ वटा पदक जिते भने बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी एक सय ३८ वटा पदक जितेको छ । माल्दिभ्सको पोल्टामा एक स्वर्ण र तीन कास्य गरी चार वटामात्र पदक परे । १३औं सागमा सबैभन्दा कम पदक माल्दिभ्सले जितेको छ । यद्यपि भुटानले पनि स्वर्ण पदक जित्न सकेन । उसले सात वटा रजत र १३ वटा कास्य पदक मात्रै जितेको छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७६, बुधबार ०८:४६