कर्णालीमा बढ्दैछ मानसिक रोग

विशेषज्ञ र पूर्वाधारको अभाव

मुना हमाल,
सुर्खेत : कर्णाली प्रदेशमा मानसिक रोगको समस्या बढ्दै गए पनि सोही अनुुसारको विशेषज्ञ उपचार र पूर्वाधारको भने अभाव छ । मानसिक रोग सम्बन्धी उपचारका लागि कर्णालीमा पर्याप्त जनशक्ति छैन । कर्णाली प्रदेशभर तीनजना मात्रै मानसिक रोग सम्बन्धी चिकित्सक कार्यरत छन् । प्रदेश अस्पतालमा एक जना मात्रै मनोरोग विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै जुम्लामा दुई जना छन् । प्रदेश अस्पतालले एक वर्षदेखि मनोरोगको क्षेत्रमा ओपीडी सेवा मात्र प्रदान गर्दै आइरहेको छ । प्रदेश अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले पछिल्लो समय मानसिक रोग भएका बिरामीको चाप बढ्दै गएको जानकारी दिए । सुरुवाती चरणमा दुुई÷तीन जना आउने गरे पनि पछिल्लो समय दिनमा २० जनासम्म उपचारमा आउने गरेको उनको भनाइ छ । बिरामीको संख्या हेर्ने हो भने अब ओपीडी सेवाले मात्र धान्न नसकिने समदर्शीले बताए । एक जना डाक्टरले बिरामी हेर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।

प्रदेश अस्पतालका अनुसार चालुु आर्थिक वर्षको हालसम्म एक हजार चार सय ५३ जनाले अस्पतालबाट मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् । जसमध्ये ६० प्रतिशत एन्जाइटी तथा डिप्रेसन, १५ देखि २० प्रतिशत चिन्ताजन्य एवम् चिन्ताबाट उत्पन्न हुुने शारीरिक तथा अन्य समस्या (सोम्याटो डिसअर्डर), पाँचदेखि १० प्रतिशत कडा खालको मानसिक रोग र पाँचदेखि १० प्रतिशत छारेरोग, मादक पदार्थ तथा लागुपदार्थको लत, डिमेन्सिया (बिर्सने रोग) रहेका छन् ।

यहाँ ओपीडी सेवा सञ्चालन गरेकाले कडा खालको मानसिक रोग भएका व्यक्तिहरूलाई बाहिर रिफर गर्नुुपरेको उनको भनाइ छ । डा. समदर्शीले भने, ‘कतिपयलाई काउन्सिलिङ्ग गर्नुपर्छ र भर्ना नै गरेर उपचार गर्नुुपर्छ । हामीसँग यो सुुविधा छैन । कडा खालको मानसिक रोगी भएको बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता छ ।’ समदर्शीका अनुुसार कर्णालीमा मानसिक रोगबाट बालबालिका, किशोरकिशोरी र वस्यक बढी प्रभावित छन् । गरिबी, घरेलु हिंसा, वैदेशिक रोजगारले निम्ताएको समस्या, लागुुऔषध दुव्र्यसन लगायतका कारणले मानसिक रोगको समस्या बढ्दै गएको उनको भनाइ छ ।

हाल प्रदेश सरकारले मानसिक रोग भएका व्यक्तिहरूका लागि औषधिको व्यवस्था गरेको छ । ‘अहिलेसम्म हामी औषधि वितरण र जनचेतनामा मात्र सीमित छौँ । जटिल खालका बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अवस्था छ । मानसिक रोग भएका व्यक्तिहरूलाई समय लिएर परामर्श गर्न आवश्यक छ । मनोविमर्शकर्ताको व्यवस्था गर्न पनि आवश्यक छ’ उनले भने । डा. समदर्शीले अझै मानसिक रोगको विषयमा र यसको उपचार हुन्छ भनेर जानकारी गराउन पनि आवश्यक रहेको बताए । मानिसले तनावलाई व्यवस्थापन गर्न नसकेर मानसिक रोगको समस्या हुुने भएकाले समयमै उपचार र मानसिक रोग पहिचान गर्न सक्यो भने यसलाई व्यवस्थापन गर्न सकिने चिकित्सकहरू बताउँछन् । कतिपयले आर्थिक अभावका कारण औषधि किनेर खान नसक्ने अवस्था रहेको बताउँदै डा. समदर्शीले सरकारले बिरामीको उपचारमा सहयोग पुुग्ने कार्यक्रम ल्याउनुुपर्नेमा जोड दिए ।

बिरामीको चाप बढेपछि कर्णाली प्रदेश अस्पतालले मानसिक रोगको उपचारका लागि छुुट्टै डिपार्टमेन्टको व्यवस्था गर्न माग गरेको छ । नयाँ भवनमा अस्पताल सरिसकेपछि १० बेडको छुट्टै विभाग सञ्चालन गर्न सकिने डा. समदर्शी बताउँछन् । उनले मानसिक समस्यालाई हल्का रूपमा लिन नहुने भन्दै यसको सहज उपचारमा सरकारले पनि ध्यान दिनुपर्ने धारणा राखे । यस्तै मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले कर्णाली प्रदेशमा केन्द्रित गरेर काम गर्ने बताएको छ । अहिले पनि केही जिल्लाहरूमा काम गरिरहेको केन्द्रले यस क्षेत्रलाई अझै केन्द्रित गरी कार्यक्रम बनाएर काम गर्ने जनाएको छ । मंगलवार वीरेन्द्रनगरमा पत्रकारहरूसँगको अन्तरक्रियामा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रका हिमाल गैरेले कर्णालीमा प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने बताए ।

प्रकाशित मितिः   २५ मंसिर २०७६, बुधबार ०८:५३