‘अन्तर्राष्ट्रिय लगानी आवश्यक’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरूको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले तीव्र विकास, गरिबीको अन्त्य र सुशासनको प्रत्याभूति सबै नागरिकको चाहना भएको र यसलाई पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीको गरिबीको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकीकृत रूपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूलाई आग्रह गरे । प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाहरूले लगानी गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए । संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा आफूहरू रहेको भन्दै उनले कानुन निर्माण, प्रशासनिक संरचनाको स्थापना लगायतका व्यवस्थापकीय काम नटुङ्गिएका कारण जनअपेक्षा बमोजिम काम हुन नसकेको जिकिर समेत गरे ।

मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको सोचसहित प्रदेश योजना आयोगबाट कर्णाली प्रदेशको प्रोफाइल निर्माण, पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना बैंकको तयारी जस्ता काम सम्पन्न भएको जानकारी दिए । बैठकमा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीकी नेपाल प्रमुख लिसा हानोनले अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले एकीकृत रूपमा प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम सञ्चालनका लागि संघीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिइन् । ठूला परियोजना सञ्चालनका लागि संघीय सरकारसँग सहकार्य भइरहेको बताउँदै विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हाड्याडले मझौला तथा साना योजना, स्थानीय उत्पादनको ब्राण्डिङ्ग, ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक इच्छुक रहेको बताए । बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरू डीएफआईडी, विश्व बैंक, यूसएड, यूएनडीपी, यूरोपेली युनियन र नर्वेजियन दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २४ मंसिर २०७६, मंगलवार ०९:३२