‘कर्णाली जाऔं’ अभियान सञ्चालन हुने

पर्यटन सूचना केन्द्र स्थापना

सुर्खेत : नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुग्ने गरी ‘कर्णाली जाऔं’ अभियान सञ्चालन गरिने भएको छ । क्षेत्रीय पर्यटन सूचना केन्द्र सुर्खेतले सन् २०२० मा कर्णाली जाऔं अभियान सञ्चालन गर्ने भएको हो । कर्णालीमा पर्यटक आगमन बढाउन यस्तो अभियान सञ्चालन गर्ने तयारी भइरहेको सूचना केन्द्रका सचिव पूर्णदेव अधिकारीले जानकारी दिए । उनले प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको प्रचार–प्रचार र प्रवद्र्धनका लागि संस्थाले काम गर्न लागेको बताए । ‘कर्णालीमा थुप्रै पर्यटकीय स्थलहरू छन्’ अधिकारीले भने, ‘तर तिनको प्रचार नहुँदा ओझेलमा परेका छन् । हामी चाँडै कर्णाली जाऔं अभियानमार्फत जतिसक्दो धेरै पर्यटक कर्णाली भिœयाउन पहल गर्नेछौं ।’ यो अभियानले नेपाल सरकारको भ्रमण वर्षलाई पनि सघाउ पुग्ने अधिकारीको विश्वास छ ।

पर्यटन प्रवद्र्धनकै लागि भनेर सुर्खेतमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रबाट कर्णालीमा रहेका पर्यटकीय स्थलहरूको बारेमा जानकारी दिनेछ । साथै अब तत्कालै कर्णाली घुम्न आउने पर्यटकहरूको तथ्यांक राख्ने तयारी समेत सूचना केन्द्रले गरेको छ । यसैबीच सूचनाको केन्द्रको नवनिर्मित भवनको सोमवार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मन्त्री बुढाले केन्द्रबाट कर्णालीका पर्यटकीय गन्तव्य सम्बन्धी सूचना प्रवाह हुुने बताएका छन् । उनले भने, ‘संघीय सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्ने काम पर्यटन सूचना केन्द्रले गर्नेछ ।’ यस केन्द्रलाई कर्णालीको पर्यटन सचिवालयको रूपमा समेत प्रयोग गर्ने योजना रहेको बताउँदै मन्त्री बुढाले प्रदेशमा आउने पर्यटकहरूको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्नका लागि केन्द्रले काम गर्ने विश्वास व्यक्त गरे । पर्यटन विकासले प्रदेशको आर्थिक तथा रोजगारीका क्षेत्रमा समेत योगदान दिने भएकोले पर्यटनका क्षेत्रमा सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रम सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले पर्यटनको विकासमा निजी क्षेत्रले गर्नुपर्ने कार्यहरू गर्नका लागि आफूहरू सधैं तयार रहेको बताए । घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले पर्यटनको विकाससँगसँगै घरेलु तथा साना उद्योगको विकास पनि अपरिहार्य रहेको बताए । सुर्खेत काँक्रेविहार यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले यातायात क्षेत्रले पनि पर्यटकीय विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले आफ्नो प्रा.लि. का यात्रुवाहक सवारी साधनहरूमा पर्यटन वर्षको लोगो लगाएर प्रचार–प्रसार गर्नमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सूचना केन्द्रका अध्यक्ष लोमनकुमार बुढाले कर्णाली प्रदेशमा रहेका सबै पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार तथा यहाँ आउने पर्यटकहरूको बारेमा समेत जानकारी राख्ने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको बताए । २८ लाखको लागतमा केन्द्रको भवन निर्माण गरिएको छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७६, मंगलवार ०९:३०