बड्डिचौरमा १५ शैयाको अस्पताल माग
सुर्खेत : बराहताल गाउँपालिकाका नागरिकले १५ शैयाको अस्पताल बनाउन माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई स्वागत गर्न सोमवार एक कार्यक्रमको आयोजना गरी उक्त माग राखेका हुन् । राज्यमन्त्री रावतको निर्वाचन क्षेत्रमा पर्ने बराहताल गाउँपालिका कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको भए पनि विकासमा पछाडि परेको भन्दै अस्पताल निर्माणको लागि तत्काल प्रक्रिया थाल्न स्थानीय सरोकारवालाहरूले माग गरे । मागपत्र ग्रहण गरेपश्चात आफ्ना भनाइ राख्दै राज्यमन्त्री रावतले उक्त माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हरेक पालिकामा १५ शैयाको अस्पताल बनाउने सरकारको नीति छ’ राज्यमन्त्री रावतले भने, ‘ढुक्क हुनुस् तपाईंहरूको माग पूरा हुन्छ ।’
कर्णाली राजमार्गको प्रवेशद्वारका रूपमा रहेको बड्डिचौरमा सुर्खेत पश्चिम र राजमार्गमा हुने दुर्घटनाको तत्काल उपचार गर्नका लागि पनि अस्पताल आवश्यक ठानेको उनले बताए । यस्तै बराहतालका सबै वडामा स्वास्थ्यचौकी बन्नेमा ढुक्क रहन भन्दै सरकारले देशभर सबै वडामा स्वास्थ्यचौकी बनाउने सरकारको कार्यक्रम लिएको बताए । उनले मानिस स्वस्थ नभएसम्म अन्य काम गर्न नसक्ने समृद्धिका लागि सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए । सरकारले निःशुल्क औषधि र उपचारको व्यवस्था गरेको भन्दै त्यसलाई प्रभावकारी बनाउनु स्थानीय सरकारको पनि दायित्व रहेको उल्लेख गरे । ‘अहिले पनि सरकारले थुप्रैखाले सेवा निःशुल्क घोषणा गरेको छ’ उनले भने, ‘मौलिक हकका रूपमा रहेको स्वास्थ्यको अधिकार पूरा गर्नु संघको मात्र नभइ प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै दायित्व छ त्यसैले यसमा ध्यान दिनुहोला ।’
स्थानीय सरकार सबैभन्दा नजिकको सरकारका भएकाले दैनिक सेवा प्रदान गरिने स्वास्थ्य सेवामा ध्यान दिन निर्देशन दिए । कार्यक्रममा गाउँपालिकाका तर्फबाट माग–पत्र प्रस्तुत गर्दै वडा अध्यक्ष तिलक मर्साङ्गी मगरले उक्त माग–पत्र हस्तान्तरण गरेका थिए । एक गाउँपालिकामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार कुनाथरी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउन माग गरिएको छ । यस्तै गाउँपालिकाको पाँच वटा वडामा अझै स्वास्थ्यचौकी नभएकाले स्वास्थ्यचौकी निर्माणका लागि पहल गर्न पनि माग गरिएको छ । यस्तै बड्डिचौरमा राज्यमन्त्री रावतलाई नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै नेकपा बराहताल गाउँपालिका कमिटीका अध्यक्ष ओम महताराले जनताको हितमा हुने गरी बोलेका कुरा पूरा गर्न आग्रह गरे ।
प्रकाशित मितिः २४ मंसिर २०७६, मंगलवार ०९:२७
साझा बिसौनी ।