नेपालले जित्यो ४९ स्वर्ण पदक

काठमाडौं : आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पु¥याएको छ । सोमवार नवौं दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पु¥याएको हो । सोमवार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थप्यो । आइतवारसम्म ४५ स्वर्ण पक्का गरेको नेपालले सोमवार चारवटा स्वर्ण थपेको छ । नेपालले अहिलेसम्म ४९ स्वर्ण, ४८ रजत र ७८ कास्य पदक जित्न सफल भएको छ । पहिलो स्थानमा रहेको भारतले एक सय ३८ स्वर्ण, ८३ रजत र ४३ कास्य पदक जितेको छ ।

सोमवार नेपालका लागि बक्सिङको ५४ केजी तौल समूहमा मिनु गुरुङले स्वर्ण पदक जितिन् । बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण जितेको हो । त्यसैगरी बक्सिङबाटै ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जित्न सफल भए । सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए । त्यसयता नेपाल स्वर्णविहीन रहँदै आएको थियो ।
त्यसैगरी जुडोबाट पनि नेपालले अर्को स्वर्ण पदक जित्यो । नेपालका लागि जुडोको ७८ केजी समूहमा पुनम श्रेष्ठले बंगलादेशकी फरिना खानोमलाई हराउँदै स्वर्ण पक्का गरिन् । यसअघि नेपालका लागि जुडोबाट देविका खड्काले स्वर्ण जितेकी थिइन् । यो सागमा चम्किएकी गौरिका सिंहले पौडीबाट चौथो स्वर्ण पदक जितिन् । उनले सोमवार एक सय मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितिन् । योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन् । यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन् । चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन् । उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन् । उनले चार स्वर्ण, र दुई रजत जित्न सफल भएकी छन् । नेपालले मंगलबार अपरान्ह फुटबलतर्फको स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा ४–० ले हराएकाले डिफेन्डिङ च्याम्पियन नेपाल भुटानलाई हराएर स्वर्ण घरैमा राख्ने दाऊमा छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७६, मंगलवार ०९:१७