वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन प्रस्तावलाई स्थायी समिति बैठकमा पठाउने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष पदका लागि विधान संशोधन अघि बढाउनेसहितका पाँचवटा निर्णय गरेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । उनका अनुसार पार्टी सचिवालयले अघि बढाएको विधान संशोधन प्रस्तावलाई आगामी मंसिर २९ र ३० गते बस्ने स्थायी समिति बैठकमा पेश गरिने भएको छ । नेकपाको एकीकरणपछि स्थायी समिति बस्न सकेको छैन । नेताहरूले लामो समयदेखि पार्टीको सांगठनिक र वैचारिक रणनीतिबारे छलफलका लागि स्थायी समिति बस्नुपर्ने माग गर्दै आएका थिए ।

त्यसैगरी बैठकले मंसिर १४ मा भएको उप–निर्वाचनपछिको परिणामबारेको प्रतिवेदन बुझाउने म्याद पाँच दिन थप्ने अर्को निर्णय गरेको छ । नेकपा सचिवालयले यसअघि सम्बन्धित भूगोलका कमिटीलाई तीन दिनभित्र उप–निर्वाचनको प्रतिवेदन पेश गर्न भनेको थियो । अब उप–निर्वाचन भएका जिल्ला तथा प्रदेश कमिटीहरूले मंसिर २२ सम्ममा प्रतिवेदन बुझाइसक्नुपर्नेछ । बैठकले विभिन्न जिल्ला समितिहरूमा देखिएको समस्या समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ । नेकपाले करिब एक वर्षपछि स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी समिति बस्नुअघि मंसिर २७ मा नेकपा सचिवालय फेरि बस्ने भएको छ ।

सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । बैठकले सात दिनभित्र केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि लिएको छ । नेकपा प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अतिक्रमणपछि उत्पन्न समस्याबारे छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउन गरेको निर्णयबारे कुनै कुरा भएन ।

प्रकाशित मितिः   २४ मंसिर २०७६, मंगलवार ०९:१५