दलित पत्रकार संघ गठन

सुर्खेत : राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ । सोमवार वीरेन्द्रनगरमा आयोजना गरिएको सुर्खेतमा कार्यरत दलित पत्रकारहरूको भेलाबाट पत्रकार जगतदल जनाला विकको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा सञ्जीव बराल, सचिवमा गोविन्द विश्वकर्मा, सह–सचिवमा निरु विश्वकर्मा र कोषाध्यक्षमा यमुना परियार रहेका छन् । यस्तै सदस्यहरूमा गणेश विक, तिलकराज विक, भीम परियार, चित्र सुनार चयन भएका छन् । सुुर्खेत शाखाको सल्लाहकार समितिमा ललित बसेल र खगेन्द्र सुनारलाई चयन गरिएको छ ।

यस्तै भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभा सदस्य राजु नेपालीले २४ प्रतिशत दलितले ओगटेको कर्णालीमा दलितहरू अझै पनि उपेक्षामा परेको बताइन् । उनले दलितका खास मुद्दाहरू बाहिर आउन नसकेको बताइन् । प्रदेशस्तरमा दलितमैत्री कानुन बनाउनका लागि दलित पत्रकार संगठनले पनि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महांसघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले दलित पत्रकारहरूको अधिकार रक्षाका लागि यस्ता संगठनको भूमिका महŒवपूर्ण हुने धारणा राखे । साथै उनले नयाँ संरचना र परिवेशमा पत्रकारहरूले संगठित भइ काम गर्नुपर्नेमा समेत जोड दिए । महासंघ कर्णाली प्रदेश समिति महासचिव दीपेन्द्र शर्माले संख्यामा दलित पत्रकारहरू कम भए पनि संगठित हुँदै गुणात्मक रूपमा अगाडि बढ्नुपर्ने बताए । प्रदेश तथा स्थानीय तहमा दलितमैत्री कानुन बनाउन संघको महŒवपूर्ण भूमिका रहने उनको भनाइ छ । सुर्खेत शाखा अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारिताको मूल्य र मान्यता अनुसार यो क्षेत्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

प्रकाशित मितिः   २४ मंसिर २०७६, मंगलवार ०९:१३