‘निजी क्षेत्रको सहयोग अपरिहार्य’
सुर्खेत : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले समृद्धि हासिल गर्न निजी क्षेत्रको सहयोग अपरिहार्य हुने बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आइतवार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री रावतले यस्तो बताएका हुन् ।
सरकारले लिएको समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । सरकारी–निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति सरकारले अवलम्बन गरेको स्मरण गराउँदै समृद्धि प्राप्तीको अभियानमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । ‘सरकारले सरकारी–निजी र सहकारी गरी तीन खम्बे नीति लिएको जानकारी नै छ’ उनले भने, ‘अहिलेको सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले पनि सहयोग गर्नुप¥यो ।’
प्रदेश अस्पताल, सुर्खेत विमानस्थल र मेडिकल कलेज स्थापनाको विषयलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै मन्त्री रावतले यसमा विशेष ध्यान दिने बताए । ‘मुख्यगरी सुर्खेतका तीन वटा विषय प्रदेश अस्पताललाई व्यवस्थित गर्ने, एयरपोर्ट र मेडिकल कलेज स्थापनाको विषयमा मेरो ध्यान गएको छ’ उनले भने, ‘यी विषयमा मैले केही न केही गरेरै छोड्नेछु ढुक्क हुनुहोस् ।’ कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले व्यवसायमैत्री वातावरण बनाउन सुझाव दिए । ‘तीन तहका सरकारले तीनथरी करको कुरा गर्छन् जसले गर्दा व्यवसायीहरू त्रसित भएका छौं’ उनले भने ‘सरकारले व्यवसायीमैत्री वातावरणको सिर्जना गरोस् ।’
संघले राज्यमन्त्री रावतमार्फत संघीय सरकारसँग विभिन्न २० बुँदे माग पेश गरेको छ । प्रदेश अस्पताललाई तीन सय शैयामा सञ्चालन गर्नुपर्ने, कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थाहरूमा २४सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, मेडिकल कलेज स्थापनाको कामलाई छरितो गर्नुपर्ने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने माग संघले राखेको छ । यस्तै एक प्रदेश एक औद्योगिक ग्राम अन्तर्गत सुर्खेतमा औद्योगिक क्षेत्र निर्माणको काम यथाशीघ्र थाल्नुपर्ने, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारणलाई निर्माण छिटो गर्नुपर्ने, मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत खण्डको काम तत्काल सुरु गर्नुपर्ने र सुर्खेत विमानस्थलको विस्तार गर्नुपर्ने माग संघले राखेको छ । अन्तरक्रियामा व्यवसायीहरूले स्वास्थ्य सेवालाई सुलभ र विश्वसनीय बनाउन सुझाव दिएका छन् । चिकित्सकहरूले सरकारी अस्पतालमा भन्दा निजी क्लिनिकमा समय दिने गरेको गुनासो गर्दै यसको यथासक्य अन्त्य गर्न व्यवसायीहरूले राज्यमन्त्री रावतसँग माग गरेका छन् ।
प्रकाशित मितिः २३ मंसिर २०७६, सोमबार १०:३२
साझा बिसौनी ।