कृषि ‘सुपर जोन’ बनाउने तयारी
साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ असार ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले छैठौं प्रदेशमा कृषि पकेट क्षेत्र बनाएर उत्पादन बढाउने तयारीमा जुटेको छ । कार्यालयले आगामी आर्थिक वर्ष २०७३/०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लागू गर्ने गरी तयारीमा जुटेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले छैठौं प्रदेशमा यहाँको हावापानी, माटो अनुकूल उत्पादन हुने बालीलाई उच्च प्राथमिकतासहित ‘विशेष क्षेत्र’ तय गरी बजेट बाँडफाँड सुरु गरिने बताए ।
गिरीका अनुसार सुर्खेत जिल्लालाई कृषिमा चिनाउनको लागि मुख्य बाली भनेको अदुवा रहेको छ । त्यस्तै तरकारी र खाद्यान्न बालीमा मकैलाई प्रमुख बालीका रूपमा सुर्खेतको कृषि क्षेत्रको पहिचान बनाउने उनको भनाइ थियो । गिरीले आर्थिक वर्ष २०७३÷०७४ मा नेटा, पाम्का, अवलचिङ्ग, रामघाट र दशरथपुरलाई अदुवाको पकट क्षेत्र बनाइने बताए । त्यस क्षेत्रको लागि विशेष कार्यक्रम र बजेट विनियोजन समेत भइसकेको छ । उनले गाविसमा कृषि प्रसारण सेवा राखी अदुवा खेतीको लागि पहल गर्ने बताए । उनले भने, ‘सबै जिल्लाको लागि पाँच अर्ब बजेट छुट्याएको छ । सुर्खेत जिल्लाको बजेट पहिलेको तुलनामा बढी नै आउँछ ।’
कृषिलाई व्यवसायीकरण गर्नको लागि ‘सुपर जोन’ को तयारी गरिएको गिरीको भनाइ थियो । उनले २०७२÷०७३ को चौमासिक कार्यक्रमको जानकारी दिँदै युवा लक्षित कार्यक्रम अन्तर्गत ४० जनालाई च्याउँ खेती, एक सय १५ जनालाई तरकारी खेतीमा अनुदान गरिएको बताए । युवा लक्षित बजेट ६४ लाख ४० हजार रहेको थियो । त्यस्तै कार्यालयले आव २०७२÷०७३ मा कागती १० हजार, आँप ११ हजार, ६ हजार लिचीको बिरुवा, १४ हजार प्याकेट च्याउ, हाते पङ्खा ८० वटा, दुई सय ६० मौरीघार, पाँच लाख माछाका भुरा किसानलाई वितरण गरेको थियो ।
कार्यालयमा सात करोड ७९ लाख १३ हजार बजेट मध्ये ९५ प्रतिशत बजेट खर्च भएको गिरीको भनाइ थियो । उनले यसपटक बजेट फ्रिज नभएको बताए । कार्यक्रममा कृषि प्रसार अधिकृत सुरेश थापा, बाली संरक्षण अधिकृत राजेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।