वातावरणको साधारणसभा


सुर्खेत :  वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको सत्रौं वार्षिक साधारणसभा आइतवार वीरेन्द्रनगर र मेहेलकुनामा सम्पन्न गरिएको छ । यसै वर्षदेखि संस्थाको वार्षिक साधारणसभालाई शाखागत रूपमा सञ्चालन गर्ने निर्णय भए बमोजिम एकै दिन सुर्खेतको यरीचोक र मेहेलकुना शाखामा सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएका हुन् ।

यसअघि रामघाट, राकम र सल्लीबजार शाखामा सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको संस्थाले अब थप आठवटा साधारणसभा सम्पन्न गर्न बाँकी रहेको जनाइएको छ । १३ वटा शाखामा विभिन्न मितिमा वार्षिक साधारणसभा सम्पन्न भइसकेपछि आगामी पुस १२ गते वीरेन्द्रनगरमा अन्तिम निर्णय प्रमाणीकरण भेलामार्फत सम्पूर्ण साधारणसभाका निर्णयहरू पारित हुने संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

सत्रौं वार्षिक साधारणसभाले संस्थाको चालु आर्थिक वर्ष २०७६÷०७७ को सात अर्ब ९३ करोड १७ लाख ७० हजार रूपैयाँको संशोधित र आगामी आर्थिक वर्ष २०७७÷०७८ को १० अर्ब ५८ करोड ४१ लाख २५ हजार बराबरको प्रस्तावित बजेटलाई समेत स्वीकृत गरेको छ । वीरेन्द्रनगरमा सम्पन्न भएको साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न सहकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यस्तै संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले विशेषगरी लघुवित्त कार्यक्रममार्फत राज्यको वित्तीय पहुँच नपुगेको दुर्गम तथा ग्रामीण क्षेत्रमा आफ्नो क्रियाकलापलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै महिला दिदीबहिनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सवल बनाउनमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

साधारणसभाको अवसर पारेर संस्थाको यरीचोक सेवाकेन्द्रका पाँचवटा केन्द्रहरूलाई उत्कृष्ट केन्द्र पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो । संस्था उपाध्यक्ष दुर्गा खत्री गिरीको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनाल, वडा नं. ८ का वडा सदस्य शोभा लामिछाने, शेयर सदस्यहरूको तर्फबाट चन्द्रा सोनी लगायतका वक्ताहरूले आ–आफ्नो भनाइ राखेका थिए । त्यसैगरी मेहेलकुनामा सम्पन्न भएको साधारणसभामा संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षता र गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो साधारणसभा संस्थाका कोषाध्यक्ष ताराकेशर पौडेलले संस्थाको नीति, कार्यक्रम तथा बजेट मन्तव्य र सञ्चालक समिति सदस्य अनन्तप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।