अपाङ्गता भएकालाई शैक्षिक सामग्री

सुर्खेत : अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । २८औं अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैंकको सहयोगमा नेत्रहिन युवा संघ नेपाल सुर्खेत शाखाले आइतवार शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका ४ नं. वडा अध्यक्ष निलकण्ठ खनालले बैंक नाफा मुखी संस्था भएर पनि सामाजिक सेवामा अग्रसर भएकोमा एभरेष्ट बैंकको कामको प्रशंसा गरे । उनले भने, ‘सरकारले वितरण गर्ने यस्ता किसिमका सहयोगमा पहुँचवालाको मात्र हात पर्ने भएकोले अब आफूले सक्दो सहयोग गर्ने लागिपर्नेछु ।’

त्यस्तै एभरेष्ट बैंक कर्णाली प्रदेशका प्रमुख विनोद अर्यालले अपाङ्गता भएकाहरूलाई करिब ९० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको जानकारी दिए । कार्यक्रममा अपाङ्गता संरक्षण नेपालका केन्द्रीय अध्यक्ष विरोध खतिवडाले बैंकले अपाङ्गता भएकाहरूलाई सामग्री प्रदान गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण एनएवी सुर्खेत परियोजना संयोजक रितु चन्दले गरेकी थिइन् ।

प्रकाशित मितिः   २३ मंसिर २०७६, सोमबार १०:२१