पेट्रोलियम अन्वेषणमा उत्साहजनक नतिजा

उदयराज अधिकारी,
दैलेख : दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणमा अहिलेसम्म उत्साहजनक नतिजा प्राप्त भएको प्राविधिक टोलीले जनाएको छ । जिल्लाको नाभिस्थान, श्रीस्थान, पादुका लगायतका क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ ।

नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जीओलोजिकल सर्वे कम्पनी बीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा रहेका पेट्रोलियम खानी अन्वेषण उत्खनन् गर्ने सम्झौता भए अनुसार अहिले अन्वेषणको कामले तीव्रता पाएको छ । पेट्रोलियम अन्वेषण परियोजनामा लागेको चाइनाको विशेषज्ञ प्राविधिक टोलीले अहिलेसम्म संकलन गरेका चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए । उनले टोलीले अहिलेसम्म गरेको सतही अध्ययनले जमिनमुनी रहेको पेट्रोलियम पदार्थको यथेष्ट प्रमाण देखिएको बताए । दैलेखमा पेट्रोलियम अन्वेषण सुरु हुनु भन्दा पहिले अन्वेषण परियोजनाका भूगर्भविद्हरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी नक्सासमेत तयार पारेर अहिले उक्त नक्सालाई आधार मानी विस्तृत अन्वेषण भइरहेको डा. त्रिपाठी बताउँछन् ।

जिल्लामा सञ्चालित पेट्रोलियम अन्वेषण कार्यका लागि अहिले चार वटा सर्भे एकै पटक सञ्चालन भइरहेका छन् । पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्यूरिक सर्भे, जियोकेमिकल स्याम्पलिङ कार्य अबका केही दिनभित्रै सम्पन्न हुने र अन्वेषण अन्तर्गतको महत्वपूर्ण सिईस्मिक सर्भे आगामी दुई–तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य प्राविधिक टोलीको राखेको डा. त्रिपाठीले बताए । दुल्लू नगरपालिका भैरवी गाउँपालिका महावु गाउँपालिका र नारायण नगरपालिका विभिन्न क्षेत्रलाई आधार मानी अन्वेषण कार्यलाई तीव्र पारिएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भू–भाग पनि अन्वेषण कार्यमा समेटिएका डा. त्रिपाठीले बताए । यस्तै अन्वेषण गर्ने टोलीका लागि आवश्यक पर्ने जिल्लामा सबै सुरक्षा व्यवस्था मजबुत पारिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

प्रकाशित मितिः   २२ मंसिर २०७६, आईतवार ०९:१९