‘मानवअधिकारमा पनि असमानता’

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अपाङ्गता भएका, यौनिक अल्पसंख्यक, लोपोन्मुख र अन्य जातजातिको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । इन्सेक कर्णाली प्रदेशले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको मानवअधिकार कार्यान्वयनका लागि स्थानीय सरकारको आवश्यकता तथा अवस्था अध्ययन विषयक कार्यशालामा बोल्दै नगर प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नगर प्रमुख सुवेदीले सबैको अधिकार सुनिश्चितताका लागि नगरपालिकाका सबै सेवा प्रदायक कार्यालय भवनहरू अपाङ्गमैत्री निर्माणमा जोड दिने, श्रवणशक्ति गुमाएका तथा दृष्टिविहीनहरूको शिक्षा स्वास्थ्यमा पहुँच अभिवृद्धि हुने योजना निर्माण गर्ने, यौनिक अल्पसंख्यकहरूलाई समाजमा सहज रूपमा घुलमिल गर्न गराउन आवश्यक योजना बनाई अघि बढ्ने, लोपोन्मुख र अन्य जातजातिहरूको शिक्षाको विकासमा टेवा पुग्ने कार्यविधि ल्याउने उल्लेख गरे । नेपालको संविधानमा उल्लेखित मानवअधिकारको प्रतिबद्धता, संरक्षण सम्वद्र्धनमा स्थानीय सरकारको भूमिकालाई प्रभावकारी बनाउने चर्चा गर्दै नगर प्रमुख सुवेदीले मानवअधिकारमैत्री कानुन निर्माण र कार्यान्वयनमा इन्सेकसँग समन्वय र सहकार्य गर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले मानव अधिकारमैत्री कानुन निर्माणमा इन्सेक लगायतका संघ–संस्थाहरूसँग सहयोगको खाँचो रहेको औंल्याए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक कमल लम्सालले मानव अधिकारको सवाल, विशेषता, दायित्व र जनप्रतिनिधिहरूको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सुर्खेत नेत्रहिन संघका सुरेशकुमार खड्काले पहुँच र समावेशीकरणलाई मानवअधिकारले समेट्नुपर्ने बताए । उनले स्थानीय तहहरूले राम्रो काम गरे पनि आफूजस्तो दृष्टिविहिनहरूले त्यसको अनुभूति गर्न नसकेको जनाए । साथै विभिन्न कानुनहरू ब्रेललिपिमा नभए पनि अनलाइन समेत दृष्टिविहिनहरूको पहुँचमा नभएको बताए । उनले सडकका पेटीहरू समेत अपाङ्गतामैत्री नभएकोले अधिकार सबैको पहुँचमा नभएको उल्लेख गरे ।

प्रकाशित मितिः   २२ मंसिर २०७६, आईतवार ०९:१६