अस्पताल स्तरोन्नति हुने

सुर्खेत : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मेहलकुना अस्पतालको निरीक्षण गरेका छन् । शनिवार अनुगमन तथा निरीक्षणमा पुगेका राज्यमन्त्री रावतले अस्पताललाई स्तरोन्नति गर्ने बताएका छन् ।गुर्भाकोट नगरपालिका सुर्खेतमा रहेको ५० शैयाको उक्त अस्पताल भौतिक पूर्वाधार लगायतको अभावमा हाल १८ शैयाको सेवामा सीमित छ । अस्पतालको अनुगमनपछि राज्यमन्त्री रावतले मेहलकुना अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै सल्यान, जाजरकोट र रुकुमका नागरिकले समेत सेवा लिनसक्ने भएकाले स्तरीय एवम् नमूना अस्पतालका रूपमा विकास गरिने बताए । ‘यो अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै अन्य छिमेकी जिल्लाहरूबाट समेत सेवा लिइरहेका रहेछन्’, उनले भने, ‘यसलाई नमूना अस्पतालको रूपमा विकास गर्नेगरी तपाईंहरू लाग्नुहोस् मैले कहाँ के गर्नुपर्छ सहयोग गर्छु ।’

उनले संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकार पूरा गर्नु स्थानीय र प्रदेश सरकारको समेत जिम्मेवारी भएकाले अस्पतालको विकास र व्यवस्थापनमा ध्यान दिन सुझाव दिए । ५० शैयाको सेवा दिनका लागि निर्माण भइरहेको भवनको समेत राज्यमन्त्री रावतले अनुगमन गरेका छन् ।

प्रकाशित मितिः   २२ मंसिर २०७६, आईतवार ०९:१४