चौमासिक प्रगति समीक्षाः पाँच

बजेट कार्यान्वयनमै असफल

अन्य मन्त्रालयको तुलनामा बढी खर्च गरे पनि मन्त्रालयले कुनै ठोस योजना कार्यान्वयन गर्न भने सकेन । दिवस मनाउने र अन्तरक्रियालगायतकै कार्यक्रममा चार महिना बिताएको छ । अहिलेसम्म भएको खर्चको ठूलो हिस्सा पनि यिनै कार्यक्रमहरुमा खर्च भएको देखिन्छ । यो अवधिमा ५० लाखभन्दा बढी बजेट त दिवसीय कार्यक्रममा मात्रै खर्च गरेको पाइएको छ ।

  • सामाजिक विकास मन्त्रालय

सुर्खेत : अन्य मन्त्रालयहरूजस्तै सामाजिक विकास मन्त्रालय पनि बजेट कार्यान्वयनमै असफल भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले चालुतर्फ करिब सात प्रतिशत र पूँजीगततर्फ जम्मा दुई प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सामाजिक विकास मन्त्रालयले चालुतर्फ १४ करोड ७३ लाख ८१ हजार रूपैयाँ र पूँजीगततर्फ चार करोड चार लाख ८० हजार रूपैयाँ खर्च गरेको छ । तर यो लक्ष्यअनुसारको खर्च भने होइन । मन्त्रालयको आन्तरिक आँकलनमा यो खर्च एकदमै न्यून भएको मन्त्रालयका सचिव डा. मानबहादुर वि.के.ले बताए । उनले आन्तरिक संरचना, जनशक्ति अभाव लगायत विभिन्न कारणले गर्दा पहिलो चौमासिकमा अपेक्षाकृत बजेट खर्च गर्न नसकिएको बताए । यद्यपि अन्य मन्त्रालयको तुलनामा सामाजिक विकास मन्त्रालयले धेरै बजेट खर्च भने गरेको उनले दावी गरे । सचिव वि.के.का अनुसार मन्त्रालयले पहिलो चौमासिकमा चालुतर्फ ७.३३ प्रतिशत र पूँजीगततर्फ २.४३ प्रतिशत खर्च गरेको छ ।

अन्य मन्त्रालयको तुलनामा खर्च बढी गरे पनि मन्त्रालयले कुनै ठोस योजना कार्यान्वयन गर्न भने सकेन । दिवसीय कार्यक्रम, अन्तरक्रियालगायतकै कार्यक्रममा चार महिना बिताएको छ । अहिलेसम्म भएको खर्चको ठूलो हिस्सा पनि यिनै कार्यक्रमहरूमा खर्च भएको देखिन्छ । यो अवधिमा ५० लाखभन्दा बढी बजेट त दिवसीय कार्यक्रममा मात्रै खर्च गरेको पाइएको छ । चार महिनामा मन्त्रालयले सम्पन्न गरेका विभिन्न १३ कार्यक्रममध्ये १० वटा कार्यक्रम विभिन्न दिवस मनाउने सम्बन्धीका छन् । जुन कार्यक्रमका लागि मात्रै ५५ लाख ९७ हजार रूपैयाँ खर्च भएको छ । यो अवधिमा अन्य तीन वटा कार्यक्रम भने नीति तथा कार्यविधि निर्माण गरी मन्त्रालयले १ लाख २७ हजार खर्च गरेको सूचना अधिकारी राजनप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार चार महिनाको अवधिमा मन्त्रालयले मानसिक स्वास्थ्य, धुम्रपान–मद्यपान, लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धी प्रचार–प्रसार तथा सामग्री उत्पादन कार्यक्रममा ३३ लाख १० हजार खर्च गरेको छ । त्यस्तै आकस्मिक स्वास्थ्य सेवा कोष प्रचार–प्रसार तथा सामग्री प्रकाशनको लागि ६ लाख, एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरका लागि तीन लाख, स्वास्थ्य अध्ययन तथा अनुसन्धान कार्यक्रमका लागि पाँच लाख २० हजार रूपैयाँ खर्च गरेको आचार्यले बताए ।

त्यस्तै हिंसा प्रभावित व्यक्तिहरूका लागि प्रदेशस्तरीय दीर्घकालीन, अल्पकालीन पुनस्र्थापना केन्द्र सञ्चालन सहयोग कार्यक्रमको लागि एक लाख ४७ हजार, महिला बालबालिकासँग सम्बन्धित विभिन्न दिवस कार्यक्रम सञ्चालनका लागि दुई लाख ४६ हजार, मनमोहन ज्येष्ठ नागरिक दिवस तथा सम्मान कार्यक्रमका लागि एक लाख १५ हजार, युवा कार्यक्रमहरूको प्रचार–प्रसार तथा सामग्री उत्पादनको लागि ८५ हजार, विभिन्न खेलकुद आयोजना, खेलाडी प्रोत्साहन तथा सहयोगको लागि एक लाख ६१ हजार र राउटे समुदायको मूल प्रवाहीकरण कार्यक्रमको लागि एक लाख १२ हजार रूपैयाँ मन्त्रालयले खर्च गरेको उनले बताए ।

यसैगरी तीन वटा नीति तथा कार्यविधि निर्माण गरिएको छ । महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, कानुन मापदण्ड निर्माणका लागि ५३ हजार, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विभिन्न नीति, कार्यक्रम तथा कार्यविधि निर्माण, प्रकाशन, वितरणका लागि २३ हजार, प्रदेशस्तरमा रोजगार प्रवद्र्धन सम्बन्धी ऐन, नियम तथा कार्यविधि निर्माणका लागि ५० हजार रूपैयाँ खर्च गरेको जनाइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर वि.के.ले नयाँ संरचना तथा विद्युतीय बजेट प्रणालीका कारण पूँजीगत बजेट कार्यान्वयनको अवस्था न्यून देखिएको बताए । साथै उनले दोस्रो चौमासिकमा कम्तीमा पनि ४५ प्रतिशत बजेट कार्यान्वयन गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको दावी समेत गरे । बजेट कार्यान्वयनलाई बढाउन तीव्रताका साथ काम सुरु भइसकेको उनले बताए ।

प्रकाशित मितिः   २२ मंसिर २०७६, आईतवार ०९:२६