सम्पत्तिमा समान अधिकारको माग
सुर्खेत : महिला हिंसा न्यूनीकरणका लागि सम्पत्तिमा महिलाहरूको समान सहभागिता हुनुपर्नेेमा सरोकारवालाहरूले जोड दिएका छन् । बुधवार सञ्चार क्लबले महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारी आयोजना गरेको संवाद कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले महिलाहरू जबसम्म आर्थिक रूपमा सवल हुँदैनन् तबसम्म हिंसा अन्त्यको कल्पना गर्न नसकिने बताइन् । उनले संविधानमा लेखिएको वंशज कायम गर्ने कुरामा महिलाहरू समेत लाग्नुपर्ने धारणा राखिन् । ‘कतिपय महिला अधिकारकर्मीहरू नाममा श्रीमान्को थर झुण्डाएर हिँडेका छन्’ उनले भनिन् ‘संविधानले दिएको वंशज कायम गर्ने अधिकार महिलाहरूले लिन सक्नुपर्छ ।’ सम्पत्तिमा महिलाहरूको पुरुषसरह अधिकार नहुनुले हिंसा निम्तिने गरेको केसीले बताइन् ।
पछिल्लो समय बलात्कारका घटनाहरू बढ्दै गएको भन्दै मन्त्री केसीले बलात्कारजस्ता अपराध अन्त्य गर्न कडा भन्दा कडा कानुन निर्माण गरी लागु गर्नुपर्ने बताइन् । ‘केही महिलाहरूले बलात्कारको झुटो मुद्दामा पुरुषहरूलाई समेत फसाउने गरेका छन्’ उनले थपिन् ‘झुटो मुद्दा पेश
गर्ने महिलाहरूलाई समेत कानुनी कारबाही हुनु जरुरी छ ।’ झुटो मुद्दा लिएर आउनेहरूका कारण वास्तविक पीडितले न्याय नपाउने उनले बताइन् । कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले महिलाहरूलाई आयआर्जनमा नजोडे हिंसाको जड रहिरहने बताइन् । उनले अभियान सहर केन्द्रित भन्दा पनि गाउँस्तरमा गर्नुपर्ने भन्दै वास्तविक पीडितकोमा अभियान पुग्नुपर्ने बताइन् । त्यस्तै महिला अधिकारकर्मी तथा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम)की निर्देशक मधुरानी ढकालले समेत पहिलेको तुलनामा महिलाहरूमा सामाजिक हिंसा छोडे पनि घरमा महिलाहरू पीडित रहेको बताइन् । उनले महिलाहरूलाई अगाडि बढाउनको लागि सरकारले ठोस योजना बनाई कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
वीरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य यमुना नेपालीले समग्रमा महिलाहरू पीडित भए पनि अझै दलित महिलाहरूको अवस्था दयनीय भएको बताइन् । दलित महिला सदस्यहरू घरबाट उम्किन सक्ने अवस्था नभएको भन्दै नेपाली समाजले समेत उनीहरूलाई स्थान नदिएको बताइन् । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सिनाले कर्णालीमा घरेलुहिंसाको दर बढ्दो क्रममा रहेको बताए । उनले हिंसा न्यूनीकरणको लागि सबैले घरबाटै हिंसा गर्दिन भन्ने प्रतिबद्धता गर्नुपर्ने बताए । प्रहरीले समेत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै तिमिल्सिनाले सबै क्षेत्रबाट महिला हिंसा न्यूनीकरणका लागि वर्षैभरी लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।
प्रकाशित मितिः १९ मंसिर २०७६, बिहीबार ०९:२६
साझा बिसौनी ।