सुर्खेती दीपकको स्वर्ण सफलता


सुर्खेत : दीपक हमालले मंगलवार राती राम्रो सपना देखेनन् । उनले अँध्यारो बाटोमा उकालो चढेको, बत्ती बाल्दा नबलेकोजस्ता डरलाग्दा सपना रातभर देखे । बिहान उनी सबेरै ब्यूँझिए । सपना सम्झेर उनलाई भित्रभित्रै डर लाग्यो किनकी आज उनका लागि सामान्य दिन थिएन । जीवनकै महत्वपूर्णमध्येको थियो । किनभने उनी बुधवार १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उनले उसु थाउलो अन्तर्गत नानछ्वान अलराउण्डमा स्वर्णका लागि भिड्दै थिए ।

दीपकले मंगलवार भएको पहिलो राउण्डमै राम्रो अंक जोडेका थिए । दोस्रो स्थानमा रहेका भारतका साजन लामा ०.०९ अंकले मात्र पछि थिए । स्वर्णका लागि बुधवार पनि राम्रो प्रदर्शनलाई निरन्तरता दिनुपर्ने उनीमाथि दबाब थियो । बुधवार उनको सपनाको उल्टो भयो । उनले नावग्वान उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते । दीपकले समग्रमा १९.३२ अंक जोडेर स्वर्ण जित्दा दोस्रो भएका भारतका लामाले १९.१२ अंक जोडेका थिए । ‘भारतका खेलाडी निकै अनुभवी थिए,’ उनले भने, ‘थोरै गल्ती गरेको अवस्थामा नतिजा जस्तो पनि हुन सक्थ्यो । त्यसैले आफ्नो उत्कृष्ट दिएर खेलें ।’

छिन्चु सुर्खेतका २६ वर्षीय हमाल सानैदेखि उसुमा आकर्षित थिए । ‘तरवार चलाएको खेलेको देख्दा निकै मजा लाग्थ्यो,’ उनले भने, ‘चीनका ज्याकी चेन र उनले फिल्ममा खेलेको उसु चाख दिएर हेर्थे ।’ उसुमा चाख भए पनि उनले खेलाडी बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । त्यसैले प्लस टू सकिने बित्तिकै ब्रिटिस लाहुरेमा भर्ना हुनका लागि प्रतिस्पर्धा गरे । पहिलो वर्षमा सफल हुन सकेनन् । दोस्रो पटक लाहुरेमा भिड्नुअघि उनी उसुको प्रशिक्षणमा भर्ना भए । ‘शरीरका लागि पनि राम्रो हुने लाहुरे भइयो भने प्लस प्वाइन्ट हुन्छ भन्ने लागेर उसु सिक्न थाले,’ उनले भने ।
उसु सिक्न थालेपछि उनलाई प्रशिक्षकले थाउलोको नानछ्वान खेल्न सुझाव दिए । ‘मेरो शरीर र जम्पिङ नानछ्वानका लागि फिट भएको गुरुहरूले सुझाव दिनुभयो’, उनी सम्झन्छन् । त्यहीबेलमा नवौं राष्ट्रिय उसु प्रतियोगिता आयोजना भएको थियो । ‘मैले त उसुको प्रतियोगिता खेल्छु भनेर कहिल्यै सोचेको थिइनँ,’ उनले भने, ‘प्रकाश लामा गुरुले अनुभवका लागि खेल्न भन्नुभयो ।’ उनै प्रकाशले दीपकाका लागि कला प्रदर्शन गर्ने प्याट्रन बनाइदिए । त्यसैलाई म्याटमा उतारेका हमाल पहिलो प्रतिस्पर्धामा चौथो भए ।

सन् २०१६ मा भारतमा भएको १२औं सागमा छनोट हुन भने अन्तिममा चुके । फाइनलमा युवराज थापासँग पराजित हुँदा उनको साग खेल्ने धोको पूरा हुन सकेन । २०१७ मा भने उनले उसुको विश्वच्याम्पियसीप खेल्ने अवसर पाए । त्यसपछि उनको प्रदर्शनमा निखार आयो । गत वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा युवराजलाई नै हराएर राष्ट्रिय च्याम्पियन बने । त्यसपछि उनको १३औं साग खेल्ने ढोका खुल्यो । सागका लागि छनोट भएपछि दीपकले चीनको सांघाईमा भएको विश्व च्याम्पियनसीपमा भाग लिए । दोस्रो पटक विश्व च्यामपियनसीप खेल्दा दीपकले उत्कृष्ट प्रदर्शन गरे । उनले नवौं स्थान हात पारे । सो प्रतिस्पर्धामा विश्वभरका ५४ जना खेलाडीले भाग लिएका थिए । ‘चीनका एक जना प्रशिक्षक मेरो प्रदर्शन देखेपछि छक्क परेका थिए,’ उनले भने, ‘नेपाली खेलाडीलाई राम्रो प्रशिक्षण दिएमा एसियामै उत्कृष्ट नतिजा ल्याएछ भनेपछि सागमा राम्रो गर्न सक्छु भन्ने आशा पलाएको थियो ।’

त्यो आशा अहिले स्वर्णमा परिणत भएको छ । स्वर्ण प्रशिक्षक र आफ्नो खेलप्रतिको लगावले प्राप्त भएको भएको उनले बताए । ‘गुरुहरू र सेल्फ मोटिभेसनले यहाँसम्म आइपुगे, यो आठ वर्षमा मैले धेरै त्याग गर्नुप¥यो ।’ उनलाई धेरैले ‘कति उसु खेलेको छोड’ समेत भने । कोही विदेश जा भन्थे कोही करिअरमा ध्यान दिन सुझाव दिन्थे । धेरै दबाबमा आएपछि उनलाई एक पटक त कोरियन भाषा पढौ कि जस्तो पनि लागेको थियो ।

साथीहरूले बाटोमा भेटेभने कहाँ गएर आएको भनेर सोध्थे,’ उनले भने, ‘मेलै प्रशिक्षण गरेको आएको भनेपछि उनीहरू अझै खेल्दैछन् उसु भनेर जिस्क्याउँथे ।’ तर पनि उनी उसुमै केन्द्रित भए । देशका लागि मेडल जित्ने सपना बुन्दै म्याटमा उसुको कला प्रदर्शन गर्न दिनरात मिहिनेत गरे । ‘पैसा नभए पनि नाम हुन्छ । आफ्ना देशका लागि खेल्छु । मेडल लिन सके भने केही राम्रो व्यवस्था होला भनेर खेलिरहे,’ उनी भावुक बने, ‘अब खेल छोड्ने इच्छा छैन, एसियाली खेलमा मेडल लिने लक्ष्य प्रशिक्षण गर्नेछु ।’