रोजगार बैंकमार्फत गाउ“मै रोजगारी

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकाले बेरोजगार युवा–युवतीलाई गाउँमा रोजगारी दिने उद्देश्यले रोजगार बैंकको स्थापना गरेको छ । कामको खोजीमा बाहिरिने युवा जनशक्तिलाई रोजगार बैंकमार्फत गाउँमै रोजगारी दिएको छ ।

मंगलवारबाट सुरु गरिएको रोजगार कार्यक्रमका लागि एक वडाबाट २० जनाका दरले गाउँपालिकाका सात वडाका एक सय ४० जना युवालाई रोजगारी दिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । पछिल्लो समयमा गाउँमा डोजर आतंक चलिरहेका बेला भगवतीमाईले डोजरको साटो गाउँमा बेरोजगार युवा–युवती विदेशिनबाट रोक्ने र आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यका साथ यस्तो योजना ल्याएको थापाले बताए ।

गाउँपालिका अध्यक्ष थापाका अनुसार गाउँपालिकाले दुई करोड रकम विनियोजन रोजगार बैंकमार्फत युवालाई काम दिने कामको सुरुवात गरेको बताए । उनले प्रदेश सरकार, संघीय सरकारले सहयोग गरेमा गाउँमा बेरोजगार रहेका सम्पूर्ण जनशक्तिलाई रोजगारी दिने उद्देश्य स्थानीय सरकारको रहेको पनि बताए । एक वडाबाट २० जनाका दरले गरी एक सय ४० जनाले आफ्नो कार्यकाल रहने बेलासम्म रोजगारी पाउने अध्यक्ष थापाले बताए । उनले कामदारले नेपाल सरकारले तोकेअनुसार पारिश्रमिक पाउनुका साथै रोजगार बैंकमार्फत काम गर्ने कामदारको दश लाख जीवन बीमा गरिने बताए ।

प्रकाशित मितिः   १९ मंसिर २०७६, बिहीबार ०९:२०