पहुँचयुक्त पर्यटन विकास
केही पहिले हामी साथीहरू कर्णालीको एक प्रमुख पर्यटकीय केन्द्र रारा घुम्न गयौं । नेपालकै सबैभन्दा ठूलो र भर्खर–भर्खर मात्रै पर्यटनको केन्द्र बन्न थालेको रारा वास्तवमै सुन्दर छ । निलो कञ्चन पानी, उत्तरतिरका हिमश्रृंखला र प्राकृतिक वातावरणले गर्दा रारा कर्णाली प्रदेश र समग्र देशकै एउटा छुट्याउनै नहुने पर्यटकीय स्थल हो । तर तालमा पुगेपछिको सुन्दर दृष्य जति सुन्दर छ, त्यो भन्दा कष्टपूर्ण छ, रारासम्मको यात्रा ।
हामी सुर्खेतदेखि सडकमार्गबाटै रारा जाँदै थियौं । मुगु जिल्लामा अवस्थित रारातालसम्मको यात्रा सडकमार्फत पूरा गरेका हामीलाई सडकको कमजोर अवस्थाले कठीनाइ त भएकै थियो, तालमा पुगिसकेपछि बास बस्ने होटलदेखि निकुञ्ज प्रवेशद्वार हुँदै तालसम्म पुग्न उचित प्रबन्ध नभएकोले पनि हाम्रो रारा यात्रा निकै कष्टकर साबित भयो । त्यसमाथि झन होटलदेखि शौचालयसम्मका संरचना अपाङ्गतामैत्री नहुनाले मैले थप कष्टकर रूपमा यो यात्रा पुरा गर्नुप¥यो । दृष्टिविहिन र पूर्ण अशक्तता भएका व्यक्तिहरूका लागि यो यात्रा त झन् असम्मभव प्रायः नै देखिन्छ । बचपनदेखि नै घुम्न रुची भएको मैले जोमसोम, पोखरा, जिरी लगायत धेरै ठाउँको यात्रा गर्दा अपाङ्गता अनुकुलका सामान्य व्यवस्थाहरू पनि नहुनुले निकै सास्ती ब्यहोरेको छु ।
अध्ययनको क्रममा पर्यटकीय नगरी पोखरामा लामो समय बिताएँ । त्यहाँ बस्दा मैले नगन्य मात्रामा भएपनि होटल, लज र अन्य सार्वजनिक स्थलहरूमा अपाङ्गता अनुकुलका संरचना देख्न पाएँ । मुलुकको राजधानी काठमाडौं धेरैपटक आउजाउ गर्दा हाम्रा सार्वजनिक सवारीहरूको दुरावस्था नदेख्ने र नभोग्ने सायदै कोही होलान् तर अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधानमा भोग्ने समस्याहरू धेरैलाई थाहा हुँदैन ।
रात्रीबसमा चढ्ने, ओर्लने स्थानमा हुने असुविधादेखि खाना र नास्ता खान रोक्ने होटलहरूमा खानेबस्ने, हाता धुने स्थान र शौचालयमा अपाङ्गता अनुकुलका न्यूनतम सुविधा पनि हुँदैनन् । त्यसमाथि बसका चालक र कर्मचारीले अपाङ्गगता भएका नागरिकलाई गर्ने दुव्र्यवहारले गर्दा अपाङ्गता भएका नागरिकका लागि सार्वजनिक सवारीको यात्रा यातानाभन्दा कम हुँदैन । काठमाडौं सहरमा यात्रा गर्दा सार्वजनिक सवारी मात्रै हैन रेष्टुरेण्ट, पसल, पार्क लगायत कुनै पनि स्थानमा अपाङ्गता अनुकूलका संरचना भेट्न सकिंदैन ।
काठमाडौं मुलुकको राजधानी मात्रै हैन, आन्तरिक र बाह्य पर्यटकको लागि एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो । संघीयताको अभ्यास भर्खर सुरु गर्दै गरेको नेपालमा धेरैलाई घुम्न बाहेक अझै पनि अध्ययन, रोजगार, प्रशासनिक कार्यका लागि राजधानी धाउनुको विकल्प छैन । हालसम्म हवाईमार्गबाट नेपाल आउने पर्यटक काठमाडौं भएर नै आउने हुनाले यो एक हिसाबले पर्यटनको ‘गेट–वे’ पनि हो । देशकै प्रमुख शहर र हवाइमार्गबाट आउने विदेशी पर्यटकले पाइला टेक्ने पहिलो गन्तव्य काठमाडौं पहुँचयुक्त संरचनाको दृष्टिले निकै पछाडि रहेको छ । पहुँचयुक्त संरचनाको विकास काठमाडौंमै बसोबास गर्ने हजारौं अपाङ्गता भएका नागरिकहरूका लागि न्यूनतम आवश्यकता त हुँदै हो, काठमाडौंसम्म यात्रा गर्ने वा काठमाडौं भएर पोखरा, लुम्बिनी लगायत देशैभरीका गन्तव्यहरूमा जाने पर्यटकहरूका लागि पनि यो एउटा आवश्यकताको रूपमा देखिएको छ ।
हामी सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउँदैछौं । नेपालको पर्यटन विकासका सन्दर्भमा प्राय सधँै सुनिने कुरा यहि हो की प्राकृतिक रूपमा सुन्दर र विविधतायुक्त संस्कृति हुँदा–हुँदै पनि एयरपोर्ट, सडक, होटललगायतका पूर्वाधारको यथोचित विकास गर्न नसक्नाले हामीले पर्यटनबाट लिनपर्ने जति लाभ लिन सकिरहेका छैनौं । पूर्वाधार विकासको कुरा गर्दा छुट्याउनै नहुने अर्को पक्ष हो, पहुँचयुक्त पूर्वाधार । अर्थात विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागी एक्लै वा अन्य व्यक्तिको न्यूनतम सहयोगमा सहज हुने किसिमका संरचना । अझ पर्यटक लक्षित संरचनामा सडक र सार्वजनिक सवारी, होटल, रेस्टुरेण्ट, पार्क, सिनेमा घर जस्ता संरचनाहरू अपाङ्गता भएका व्यक्तिहरूलाई प्रयोग गर्न सहज किसिमका हुनुपर्दछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको करिव दुई प्रतिशत अर्थात् पाँच लाख अपाङ्गता भएका व्यक्तिहरू छन् जसमध्ये ३६ प्रतिशत शारीरिक अपाङ्गता भएका व्यक्तिहरू छन् । अपाङ्गता अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरू भने यो संख्या अझ धेरै भएको दाबी गर्छन् । २०७२ को भूकम्पपछि यो संख्या अझै बढेको अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठन र विश्व बैंकको ‘विश्व अपाङ्गता प्रतिवेदन २०१०’ का अनुसार विश्वभरिमा अपाङ्गता भएका व्यक्तिहरूको संख्या १५ प्रतिशत छ । नेपालमा सबैभन्दा धेरै पर्यटक आउने भारत, चीन, अमेरीकाजस्ता देशमा ठूलो संख्यामा अपाङ्गता भएका नागरिकहरू रहेको तथ्याङ्कहरूले देखाउँछन् । छिमेकी देश भारतमा कुल जनसंख्याको दुई प्रतिशत अर्थात् दुई करोड १० लाख अपाङ्गता भएका व्यक्ति रहेका छन् भने चीनमा यो संख्या करिब सात प्रतिशत अर्थात् आठ करोड ३० लाख रहेको छ । संयुक्त राज्य अमेरिकामा १९ र संयुक्त अधिराज्यमा २२ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको ती देशका जनगणनासम्बन्धी प्रतिवेदनहरूले देखाउँछन् । विश्वमा नेपाल लोकप्रिय पर्यटकिय गन्तव्य हुँदाहुँदै पनि उपयुक्त पूर्वाधारको अभावमा यी देशका अपाङ्गता भएका नागरिकहरूलाई हामीले भिœयाउन सकिरहेका छैनौं ।
सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक आएको भनिए पनि तीमध्ये अपाङ्गता भएका व्यक्तिहरू कति थिए भन्ने तथ्याङ्क नेपाल पर्यटन बोर्डलगायतका निकायसँग छैन । फाट्टफुट्टरूपमा अपाङ्गता भएका व्यक्तिहरू पर्यटकका रूपमा आएरहेका भएपनि सहज रूपमा घुम्न र रमाउन चाहिने आवश्यक पूर्वाधारको अभावले गर्दा उनीहरू आफ्नो बसाईं छोट्याउन बाध्य हुने गर्दछन् । फलस्वरूप पर्यटनमार्फत भित्रिन सक्ने आयको ठूलो हिस्सा हामीले गुमाइरहेका छौं । देशभित्र पनि घुम्ने संस्कार र संस्कृतिको विकाससँगै आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको छ । पूर्वाधार विकासमा अलिकति सोचेर कदम चाल्ने हो र पहुँचयुक्त पर्यटकीय पूर्वाधार निर्माण गरी त्यसको यथोचित प्रचार प्रसार गर्न सकियो भने देशभित्र र बाहिर ठूलो संख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले पर्यटकको रूपमा भिœयाएर त्यसको लाभ लिन सक्छौं ।
नेपालले आफूलाई हिमालको देश, विविधतायुक्त संस्कृतिसहितको प्राचीन सभ्यताको देश भनेर विश्व बजारमा ‘ब्रान्डिङ’ गरिरहेझैं अब पहुँचयुक्त पर्यटनको देश भनेर पनि ब्रान्डिङ गर्न सुरु गर्नुपर्छ । पोखरामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीले केही वर्षअघि नेपालकै पहिलो पहुँचयुक्त पदमार्गको उद््घाटन गरेका थिए । यो अभ्यासलाई अब अन्य स्थानहरूमा पनि बिस्तार गर्नु र व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ । पहुँचयुक्त पर्यटन अपाङ्गता भएका नागरिकले अन्य व्यक्तिसरह सहज रूपमा घुम्न र मनोरञ्जन गर्न पाउनुपर्छ भन्ने मानवअधिकारको विश्वव्यापी मान्यतामा मात्रै आधारित छैन, यसले पर्यटकीय गतिविधिलाई विविधीकरण गरी राष्ट्रिय आय बढाउन पनि उत्तिकै योगदान पु¥याउँछ । यसरी हेर्दा पहुँचयुक्त पर्यटनको अवधारणाले अपाङ्गता भएका नागरिकसँगै पर्यटन व्यवसायी र राज्यलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।
बढ्दो जनसंख्यासँगै काठमाडौंलगातय प्रमुख सहरहरूमा धुलो धुँवा व्यवस्थापन र ट्राफिक लाइट जस्ता आधारभूत संरचनाको प्रबन्ध गर्नै नसकिरहेका बेलामा पहुँचयुक्त सडकलगायत पर्यटकीय पूर्वाधार खर्चिलो र झन्झटिलो कामजस्तो लागेपनि साना–साना सुधारका कार्यबाट पनि यसको थालनी गर्न सकिन्छ । मुख्य कुरा सोचमा परिवर्तन गरी पर्यटन उद्यमीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आफ्ना सम्भावित ग्राहकको रूपमा हेरी पहुँचयुक्त पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने देखिन्छ । केहि हप्ताअघि नेपालका चितवन, पोखरा र काठमाडौं भ्रमण गरी फर्किएका न्यूजिल्याण्डका पर्यटन व्यवसायी तथा पहुँचयुक्त पर्यटनका अभियन्ता जेसा विलियम्सका अनुसार काठमाडौं उपत्यकामा रहेका ऐतिहासिक र पुरातात्विक सम्पदाजस्ता क्षेत्रमा पहुँचयुक्त संरचना निर्माण गर्न सम्भव नभएपनि पर्यटकीय गन्तव्यका होटल, रेष्टुरेण्ट र त्यहाँका शौचालयजस्ता संरचनामा केही सुधार गरेर यस्तो पहल गर्न सकिन्छ । लाखौं करोडौं खर्च गरेर बनाइएका होटल, रेष्टुरेण्ट, सिनेमा हलहरूमा प्रवेश गर्ने बाटोमा केही हजारमा तयार हुने ¥याम्प, रेलिङ र दृष्टिविहिनका लागि ‘गाइडीङ ब्लक्स’ बाटो तयार गर्न सकिन्छ । पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिलाई सांकेतिक भाषाको तालिमदेखि अपाङ्गता भएका व्यक्तिहरूसँग कसरी प्रस्तुत हुने, कसरी उनिहरूलाई सहज वातावरण प्रदान गर्ने र उनिहरूले प्रयोग गर्ने ह्वीलचेयर लगायतका सामग्रीहरू कसरी खोल्ने, बन्द गर्ने भन्ने बारेमा तालिम दिने सके पहुँचयुक्त पर्यटनमार्फत नेपालको पर्यटन क्षेत्रले पक्कै पनि फड्को मार्नेछ ।
कर्णाली प्रदेशको आर्थिक उपार्जनको स्रोत पर्यटनलाई बनउनु पर्छ भन्ने कुरा निकै सुनिन्छ । रारा, शे–फोक्सुन्डो, कुपिन्डे दहलगायतका प्राकृतिक र काँक्रेबिहार, सिंजा उपत्यका, पञ्चदेवल, शिरिस्थान, नाभीस्थान लगायताका सांस्कृतिक र ऐतिहासिक स्थानहरू भएको कर्णाली प्रदेश वास्तवमा देशकै एक प्रमुख पर्यटकीय गन्तव्य सक्ने सम्भावना बोकेको क्षेत्र हो । कर्णाली प्रदेशलाई पहुँचयुक्त पर्यटनको केन्द्रको रूपमा ब्रान्डिङ गर्न सकियो भने पर्यटनको क्षेत्रमा यो एउटा नविन र सफल अभियान हुन सक्दछ । हाल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका पर्यटकीय स्थलहरू काँक्रेविहार, बुलबुले र वीरेन्द्रनगर–४ भैरवस्थानमा निर्माण गर्न लागिएको सहिद पार्कमा प्रवेशद्वार, शौचालय लगायतका स्थानहरू अपाङ्गता अनुकूलका निर्माण गरी यो कार्यको सुरुवात गर्न सकिन्छ ।
प्रकाशित मितिः १९ मंसिर २०७६, बिहीबार ०९:१८
साझा बिसौनी ।