अब राडरले दिन्छ मौसमको पूर्व जानकारी
सुर्खेत : मौसम सम्बन्धी पूर्व सूचना दिने अत्याधुुनिक प्रविधि ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) सञ्चालनमा ल्याइएको छ । पश्चिम नेपालमा मौसम सम्बन्धी पूर्व जानकारी गराउने उद्देश्यले जल तथा मौसम विज्ञान विभागले सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा राडार जडान गरेको हो । संघीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलवार एक कार्यक्रमकाबीच मौसमी राडार केन्द्रको उद्घाटन गरेका छन् ।
अब उक्त राडारले वर्षा हुनुभन्दा तीन÷चार घण्टा अगाडि नै कति वर्षा हुँदैछ, हावा कुन गतिमा कहाँबाट बहदैछ र आँधीहुरीको पूर्वानुमान गरेर जानकारी दिनेछ । यसले पश्चिम नेपालमा प्रकोपबाट हुने विपद् जोखिमलाई न्यूूनीकरणमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।
राडारले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं. ५ को तीन वटा जिल्ला बाँके, बर्दिया र दाङमा मौसम सम्बन्धी पूर्व जानकारी दिने जल तथा मौसम विज्ञान कार्यालय सुुर्खेतका प्रमुख विनोद पराजुलीले बताए । यसले प्रकोपबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न ठूलो सहयोग पु¥याउने उनको भनाइ छ । करिब ३० करोडको लगानीमा एक वर्षअघि राडार जडान गरिएको थियो । राडारले मौसम सम्बन्धी सूचना प्रणालीमा सहज गराउने विश्वास उनले व्यक्त गरे । नेपालमा सुुर्खेतसहित तीन ठाउँमा मौसम सम्बन्धी जानकारी दिने तीन वटा राडार स्थापना गर्ने सरकारको उद्देश्य अन्तर्गत सुर्खेतमा पहिलो पटक जडान गरिएको हो । राडारले पश्चिम नेपालको हवाई उडानलाई पनि सुरक्षित गराउने प्रमुख पराजुुलीले बताए । हवाई उडान गर्ने ठाउँ र ल्याण्ड गर्ने ठाउँबीचको आकाशको मौसम कस्तो छ भनेर पूर्व सूचनाबाट थाहा पाउने भएकाले यस क्षेत्रको हवाई उडान सुरक्षित हुने उनको भनाइ छ ।
राडार केन्द्रको उद्घाटन गर्दै मन्त्री पुनले राडारले प्राकृतिक प्रकोपबाट सुरक्षित रहन ठूूलो सहयोग पुु¥याउने बताए । उनले यस क्षेत्रको जनधनको क्षतिलाई कम गर्ने विश्वास पनि व्यक्त गरे । मौसम सम्बन्धी पूर्व सूचनालाई भरपर्दो र विश्वसनीय गराइने मन्त्री पुनको भनाइ छ । वर्षात् लगायत हावाहुरीको पूर्व जानकारीले त्यसबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सघाउनेछ ।
प्रकाशित मितिः १८ मंसिर २०७६, बुधबार ०९:२१
साझा बिसौनी ।