अपाङ्गतामैत्री भविष्यको खोजी

सुर्खेत : २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मंगलवार सामाजिक विकास मन्त्रालयको अगुवाइमा सुर्खेतस्थित अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाहरूले प्रभातफेरी गरेका छन् भने स्थानीय तहले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाएका छन् ।

स्थानीय मंगलगढीचोकबाट प्रभातफेरी गरेर जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो । नेपालमा भने सन् १९९३ देखि दिवस मनाउन थालिएको हो । यस वर्ष ‘दिगो विकासको लक्ष्यः अपाङ्गमैत्री भविष्य’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको हो । अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकारको सम्मान गर्नुपर्ने र राज्यको मूल प्रवाहमा समावेश गर्नुपर्नेलगायतका मागहरू राखेका छन् । उनीहरूले अपाङ्गता भएका व्यक्ति र पारिवारका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी सरकारको भएकाले प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले दिवसको शुभकामना दिदै सरकारले तत्पर रहेर काम गर्ने बताए । कार्यविधि र निर्देशिका गराएर प्रदेशस्तरीय अपाङ्गता समन्वय समिति बनाउने पनि उनले जानकारी दिए । दिवसका अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताको उत्कृष्ट प्रतिस्पर्धीहरू पुरस्कार वितरण पनि गरिएको थियो ।

प्रकाशित मितिः   १८ मंसिर २०७६, बुधबार ०९:१८