बाँध र विद्युतगृहको शिलान्यास

सुर्खेत : राष्ट्रिय गौरवको भेरी बबई डाइर्भसन बहुउद्देश्यीय आयोजनाको बाँध (ड्याम) र पावर हाउस (विद्युत गृह)को निर्माण कार्य सुरु भएको छ । संघीय सरकारका उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले सोमवार बाँध र विद्युत गृहको शिलान्यास गरेका छन् । यो सँगै आयोजनाको दोस्रो चरणको काम सुरु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा पर्ने चिप्लेमा बाँध र बबईमा पावरहाउस निर्माण गर्न लागिएको हो । बाँध र पावरहाउस निर्माणका लागि ग्वाङडङ र रमन कन्स्ट्रक्सनले जिम्मा पाएको छ । बाँध र पावर हाउसको काम चार वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । निर्माण कम्पनीले तीन वर्षभित्र सक्ने आन्तरिक लक्ष्य लिएको जनाएको छ । चिप्लेमा १३ मिटर अग्लो ड्याम बनाएर प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बर्दिया र बाँकेमा सिँचाइ उपलब्ध गराइने छ । यसका लागि ६ अर्ब १६ करोड ५२ लाख खर्च हुने आयोजनाले जनाएको छ । आयोजनाको चिप्लेदेखि बबईमा टनेल बोरिङ मेसिनबाट १२ किलोमिटर सुरुङमार्गको निर्माण कार्य यस अघि सम्पन्न भइसकेको छ । आयोजनाको काम आर्थिक वर्ष २०७९÷०८० मा गरी सक्ने आयोजनाले लक्ष्य लिएको छ ।

बाँध र पावर हाउसको शिलान्यास गर्दै उर्जामन्त्री पुनले आयोजनालाई समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । उनले आयोजना समय अगावै सम्पन्न गरेर राष्ट्रिय गौरवको पहिचान दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री पुनले संघीय सरकारले आयोजनामा बजेट र जनशक्ति अभाव हुन नदिने पनि जानकारी दिए । भेरी बबई आयोजना देशको विकासमा योगदान दिने आयोजना भएको भन्दै यसले कूल ग्रार्हस्थ उत्पादनमा एक प्रतिशत योगदान दिने अपेक्षा गरिएको समेत बताए । स्थानीय नागरिक, जनप्रतिनिधिले आयोजनाको काम सहज रूपमा सम्पन्न गर्न महŒवपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै मन्त्री पुनले अवरोध हुने खालको गतिविधि नगर्न पनि सबैलाई आग्रह गरे । आयोजनाबाट हुने आम्दानीको एक हिस्सा कर्णालीको विकास र समृद्धिमा लगाउने पनि उनले बताए । साथै आयोजनाको शेयर नागरिक, स्थानीय तह र प्रदेश तहलाई पनि उपलब्ध गराउने बताउँदै अर्को महिनादेखि शेयर वितरण गरिने जानकारी दिए । ४० प्रतिशत शेयर कर्णालीका नागरिक, स्थानीय सरकार र प्रदेश सरकारको सुनिश्चित गरिने जनाइएको छ । ४८ मेगावाट विद्युत उत्पादन तथा बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको हो ।

प्रकाशित मितिः   १७ मंसिर २०७६, मंगलवार ११:३८