उप–चुनावको अन्तिम परिणाम

उप–चुनावको अन्तिम परिणाम

काठमाडौं : देशभरका ३७ जिल्लामा भएको उप–निर्वाचनको सबै परिणाम आएको छ । ५२ स्थानमा भएको उप–चुनावको अन्तिम परिणाम आउँदा नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्षसहित ३० स्थानमा जीत हासिल गरेको छ । एक उप–महानगरपालिका र एक प्रदेशसभा सदस्य गुमाएर पनि समग्र नतिजामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो वर्चश्व कायम राखेको छ ।

नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्य र धरान उप–महानगरको मेयरसहित १३ स्थान सुरक्षित गरेको छ । नेकपाले उप–चुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको छ । त्यस्तै यसअघि कहिल्यै नहारेको धरान उप–महानगरपालिका पनि नेकपाले गुमाएको छ ।

नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उप–निर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उप–निर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान उपमहानगरपापिका वडा नम्बर ७ सहित २४ वडाध्यक्ष नेकपाले जितेको छ । बाग्लुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताहरूको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवारले जितेका छन् । नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३२ स्थानमा वामपन्थीले जितेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पनि नेकपाले जितेको छ ।

उपचुनाव भएका ५२ मध्ये २८ स्थान नेकपाबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण खाली भएका थिए । यस हिसाबले समग्र नतिजामा नेकपाले २ स्थान थप गरेको छ । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष थप गर्दा एउटा प्रदेशसभा र उपमहानगरपालिका गुमाएको छ । कास्की–२ मा विद्या भट्टराईले नेकपाको जितलाई निरन्तरता दिँदा भक्तपुरको प्रदेशसभा पार्टीले जोगाउन सकेन । त्यस्तै दाङको प्रदेशसभामा फराकिलो मतान्तरले जित निकाल्दा धरान जस्तो गढमा भने नेकपाले जोगाउन सकेन । मतगणनाको पछिल्लो परिणाम अनुसार दाङ–३ (ख) मा नेकपाकी विमलाकुमारी खत्री ५ हजार भन्दा बढीको फराकिलो मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएकी छन् । यसअघि सो क्षेत्रमा नेकपाकै उत्तरकुमार ओली निर्वाचित भएका थिए ।

त्यस्तै, बागलुङको क्षेत्र नम्बर २ ख मा वाम गठबन्धनका खिमविक्रम शाही करिब २ हजार मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । देशका तीनवटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा भक्तपुर १ (क) मा यसअघिनै कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका छन् । उप–चुनाव भएका तीन गाउँपालिका अध्यक्षमध्ये पाँचथरको फाल्गुन्द गाउँपालिकामा नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । यसअघि त्यहाँ नेपाली कांग्रेसका अमर नेम्वाङ विजयी भएका थिए । त्यस्तै संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल विजयी भएका छन् । यसअघि पनि सो गाउँपालिकामा नेकपाले नै जितेको थियो । नेकपाले यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि विक्रम चौधरीलाई निर्वाचित गराउन सफल भएको छ । हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रूपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा कांग्रेसले जितेको थियो । कांग्रेसले दुई गाउँपालिका र राजपाले एक गाउँपालिका गुमाउँदा नेकपाले तीन गाउँपालिका थप गरेको हो ।

कांग्रेसका लागि यो उप–चुनाव धरान र भक्तपुरको विजयका कारण सुखद रह्यो । तर कांग्रेसको गढ मानिने पाँचथरको फाल्गुनन्द गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाको जीत जोगाउन सकेन । यद्यपि चितवनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै निर्वाचन क्षेत्रका वडाध्यक्षमा जितेर कांग्रेसले अन्तको क्षतिपूर्ति गर्न खोजेको छ । उप–चुनाव ५२ स्थानमध्ये १२ वटा वडाध्यक्ष, एक गाउँपालिका प्रमुख र एक उप–प्रमुख कांग्रेसका उम्मेदवारको निधनका कारण खाली भएका थिए । संख्यात्मक हिसाबले कांग्रेसले उपचुनावबाट एक एक स्थान गुमाएको छ । १४ सीट कांग्रेसको खाली भएकोमा उप–चुनावमा कांग्रेसले १३ स्थान जितेको छ ।

त्यस्तै समाजवादी पार्टीले चार वडा अध्यक्ष जितेको छ भने राजपाले ३ वडा अध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ । वडा अध्यक्षतर्फ भने नेकपा र कांग्रेसले आ–आफ्नो संख्या कायम राख्न सफल भएका छन् । तर नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडामा आफ्नो जीत निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ । नेकपासँग गठबन्धन गरेको जनमोर्चाले यसअघि जितेको बाग्लुङ–२ (ख), प्रदेशसभा सदस्यमा पुनः जीत हासिल ग¥यो भने प्यूठानको ऐरावती–२ मा वडा अध्यक्षमा यस पटक जित्न सकेन ।

प्रकाशित मितिः   १७ मंसिर २०७६, मंगलवार ११:४१