‘घर–घरमा पानी पुर्याउ’

सुर्खेत : स्वच्छ खानेपानीमा नागरिकको पहुँच बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था तथा अधिकार सम्बन्धी प्रदेशस्तरीय गोष्ठीका सहभागीले यस्तो बताएका हुन् ।

महासंघ कर्णाली प्रदेशका संयोजक कुलमणि देवकोटाले संविधानमा लेखेर मात्र जनताले खानेपानी नपाउने भन्दै सबैको पहुँचमा पानी पु¥याउने गरी काम गर्नुपर्ने बताए । ‘संविधानमा खानेपानी तथा सरसफाइलाई आधारभूत अधिकारको रूपमा राखिएको छ’ उनले भने ‘तर हामीहरूले सुर्खेत उपत्यकाका जनतालाई ७२ घण्टामा पानी वितरण गर्न बाध्य छौं ।’ सरकारले बनाएको नीतिकै कारण जनता खानेपानी जस्तो आधारभूत अधिकारबाट वञ्चित भएको उनले बताए । तिनै तहमा खानेपानीको मुहानको प्रयोगको सम्बन्धमा अधिकार भएकोले समेत कामको जिम्मेवारीको विषयमा अलमल भएको देवकोटाको भनाइ थियो । ‘सुर्खेतमा पानी नभएको होइन’ उनले थपे ‘तर भेरीबाट वीरेन्द्रनगरमा पानी ल्याउने प्रविधि चाहिएको छ ।’ खानेपानी तथा सरसफाइ जस्तो महत्वपूर्ण विषयमा कर्णाली प्रदेश सरकार समेत गम्भीर हुनुपर्ने धारणा देवकोटाले राखेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले सबै जनताका आँगनमा धारा पु¥याउने सरकारको दायित्व भएको बताइन् । उनले खानेपानी तथा सरसफाइका सम्बन्धमा नीतिगत समस्या भए त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखेकी थिइन् । अर्का सांसद अम्मरबहादुर थापाले कर्णालीमा एकीकृत बस्ती विकासको अवधारणा लागू गर्नुपर्ने बताए । उनले छरिएको बस्तीमा पानी पु¥याउन असम्भव भएकोले एकीकृत बस्ती विकासमा सबैले ध्यान दिनुपर्ने बताए । नेपाल सरकारका पूर्व सचिव काशीनाथ दाहालले कार्यक्रममा खानेपानी तथा सरसफाइ सम्बन्धी प्रस्तुतीकरण राखेका थिए ।

प्रकाशित मितिः   १७ मंसिर २०७६, मंगलवार ११:३३