स्वस्थ समुदाय घोषणा

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० असार ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ समावेशी टोल र वडा नं. २ माथिल्लो धारापानीलाई एक कार्यक्रमका बीच स्वस्थ समुदाय घोषणा गरिएको छ । बिहीवार औपचारिक कार्यक्रमका बीच स्वस्थ समुदाय घोषणा गरिएको हो ।
घोषणा पूर्व समावेशी टोलका ७२ घरधुरी र माथिल्लो धारापानी टोलका ५६ घरधुरीमा पूर्ण सरसफाइका सबै सूचकहरू पूरा गरेका छन् । टोलका प्रत्येक घरहरूमा सुरक्षित खानेपानीका लागि फिल्टर, फोहोरमैला व्यवस्थापनका लागि डस्वीन र खाल्डो, भान्साको उचित व्यवस्थापन, सबै घरमा सुधारिएको चुल्हो, व्यक्तिगत सरसफाइ र वातावरणीय सरसफाइ समेत गरिएको छ । घोषणा कार्यक्रममा आगामी दिनमा सबैले चर्पीमा दिसा–पिसाब गर्ने, समुदायको स्वास्थ्य तथा दिगो सरसफाइमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
घोषणा सभामा वीरेन्द्रनगर नगरपालिकाका सरसफाइ शाखा प्रमुख टीका थानीले समुदायलाई सधैं स्वच्छ र सुन्दर राख्न सुझावसहित स्वस्थ टोल हुँदै सिंगो नगरलाई नै स्वस्थ र पूर्ण सरसफाइयुक्त घोषणा गर्नका लागि सबै नागरिक सचेत हुनुपर्ने बताइन् । त्यसैगरी सम्पूर्ण राजनीतिक दलहरूले सरसफाइलाई निरन्तरता दिनुपर्ने सुझाब दिइन् । एन्फोका जिल्ला संयोजक रोशन चौलागाईंले सरसफाइ मानव जीवनका लागि अति आवश्यक रहेको र पूर्ण सरसफाइ घोषणासँगै बानी व्यवहारमा परिवर्तन ल्याउन पनि अति आवश्यक रहेको बताए । सुन्दर नेपाल, आस्था नेपाल, वातावरण सुधार समाजका प्रतिनिधिहरूले पनि सरसफाइलाई निरन्तरता दिनुपर्ने सल्लाह सुझाव दिएका थिए ।
स्वस्थ समुदाय प्रवद्र्धनको लागि सहयोग गर्ने स्थानीय समाजसेवीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मितिः   ३१ असार २०७३, शुक्रबार १०:१४