उप–निर्वाचन शान्तिपूर्ण

सुर्खेत : कर्णाली प्रदेशका दुई वटा जिल्लामा शनिवार शान्तिपूर्ण रूपमा उप–निर्वाचन सम्पन्न भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि र सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षको लागि शनिवार उप–निर्वाचन भएको हो । निर्वाचन आयोगका अनुसार हुम्लामा ८५ प्रतिशत मत खसेको छ भने सल्यानमा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय हुम्लाका अनुसार मतदान केन्द्रहरू मालिका माध्यमिक विद्यालय लालीमा सात सय ९९, हुम्ला माध्यमिक विद्यालय रायामा चार सय ७५, थालीमा तीन सय ८०, खार्पुनाथमा ६ सय ८७ र छिप्रामा पाँच सय ५२ गरी जम्मा दुई हजार आठ सय ९३ मत खसेको छ ।

खार्पुनाथको उपाध्यक्ष पदका लागि नेकपाका उम्मेदवार रूपा शाही र नेपाली कांग्रेसका उम्मेदवार तारा शाही चुनावी मैदानमा छन् । तत्कालीन गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको गएको असार ३ गते जीप दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उप–निर्वाचन भएको हो । खार्पुनाथको मतगणना भने आज (आइतवार) बिहानबाट गरिने जनाइएको छ ।सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा भने नेकपाका धर्मे बुढा विजयी भएका छन् । एक हजार एक सय २४ मत खसेकोमा बुढाले सात सय ९२ मत पाएर जीत हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्कबहादुर बोहोराले दुई सय ५१ मत पाए भने राप्रपाका गोपाल शाहले २१ मत मात्र प्राप्त गरे ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख हरिबहादुर बुढाथोकीका अनुसार सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलको (क) केन्द्रमा पाँच सय ९३ र (ख) मतदान केन्द्रमा पाँच सय ३१ मत खसेको थियो । निर्वाचन सम्पन्न भएपछि शनिवार राती नै मतगणना गरिएको हो ।

प्रकाशित मितिः   १५ मंसिर २०७६, आईतवार ०९:२७