सुर्खेत विमानस्थलका अनेक चुनौती

धावनमार्ग साँघुरो, उडान असुरक्षित

सुर्खेत : सुर्खेत विमानस्थललाई कर्णाली प्रदेशकै सबैभन्दा सुविधायुक्त र सुरक्षित विमानस्थलका रूपमा लिइन्छ । भौगोलिक दृष्टिकोणबाट पनि सबैभन्दा उपयुक्त मानिने यही विमानस्थल चुनौतीमुक्त भने छैन ।

विमानस्थलका एक होइन अनेक चुनौती छन् । जसले गर्दा पर्याप्त सुविधायुक्त र सुरक्षित बन्न सकेको छैन । सुर्खेत विमानस्थलको सबैभन्दा पहिलो चुनौती हो, यसको धावनमार्ग । धावनमार्ग साँघुरो छ । सुरुवातमै पूर्व–पश्चिम बनाउनुपर्ने गुरुयोजनाविपरित बनाइएको धावनमार्ग उत्तर–दक्षिण बनाइएको छ । गुरुयोजना विपरित गरिएको यही गलत कार्यले अहिले विमानस्थल विस्तारमा समस्या देखिएको छ । उत्तरतर्फ विस्तारका लागि पर्याप्त ठाउँ छैन । त्यसमाथि विद्यालयसहित बाक्लो बस्ती छ । विमानस्थल विस्तारको कुराले त्यस क्षेत्रका नागरिक बस्ती छोड्नुपर्ने कुराले त्रसित बनेका छन् । त्यसो त अहिलेकै अवस्थामा उत्तर–दक्षिण विस्तार गरे पनि त्यो पर्याप्त हुँदैन । नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीका अनुसार उत्तर–दक्षिण रन–वे विस्तारले मात्रै समस्या समाधान हुँदैन । त्यसो गर्दा पनि ठूला विमान उडान गर्न समस्या हुने उनको भनाइ छ । ठूला विमान आए पनि कति भारी बोकेर आउँछ भन्ने कुरालाई सबैले ध्यान दिनुपर्ने उनले बताए । विमानस्थल विस्तार गर्नुमात्रै समस्याको समाधान नभएको पन्थीको भनाइ छ ।

धावनमार्ग साँघुरो हुनु त समस्या छँदैछ सँगसँगै विमानस्थलका पर्याप्त संरचना नहुनु र उडान प्रक्रियाका लागि आवश्यक प्रविधिको अभाव समेत चुनौतीको रूपमा रहेको प्रमुख पन्थीले बताए । विमानस्थल नजिकै रहेको बधशाला हटाउन नगरपालिकाले ध्यान नदिँदा पनि उडान असुरक्षित हुने गरेको छ । ‘विमानस्थल नजिकै बधशाला छ’ उनले भने ‘हामीहरूले नगरपालिकालाई दुई पटकसम्म पत्र काट्दा पनि त्यसबारे सुनुवाइ भएको छैन ।’ बधशालाका कारण चराहरू थुप्रै आउने भएकोले उडान असुरक्षित भएको हो । यही कारण कैयौं पटक उडान ढिला हुने पनि उनले जानकारी दिए ।

सुर्खेत–काठमाडौं उडान ‘डिले’ हुनुका पनि एक होइन अनेक कारण छन् । रन–वेमा बत्ती नहुनु, नागरिकहरूले उडान प्रक्रिया नबुझ्नु, भीआईपी सवारीका कारण समेत उडान डिलेको समस्या आउने पन्थीले बताए । उडान डिले हुनुमा उड्डयन कार्यालयको कारण नभइ एयरलाइन्स कम्पनीहरू तथा मौसमको कारण समेत हुने उनले जनाए । ‘काठमाडौं उडान गर्नुपर्दा सुर्खेत र काठमाडौंको मात्रै मौसम सफा भएर हुँदैन’ पन्थीले थपे ‘भवितव्य आउने समस्याको लागि अर्को नजिकैको विमानस्थलको समेत मौसम सफा हुनुपर्छ ।’ कहिलेकाहीँ स्वयम् यात्रु, चालकदल र विभिन्न प्रविधिको गडबडीको कारण पनि उडान डिले हुने उनले बताए ।

सुर्खेत विमानस्थलको भाडादर महङ्गो भएको विषयमा बोल्दै प्रमुख पन्थीले एयरलाइन्स कम्पनीले नेपाल सरकारले तोकिदिएको न्यूनतम र अधिकतम भाडादर भन्दा एक रूपैयाँ पनि बढी नलिएको दावी गरे । ‘सुरक्षित उडान गराउनु उड्डयन कार्यालयको कर्तव्य हो’ पन्थीले भने ‘उडान भर्दा सुरक्षित गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने कुरामा हामीहरूले ध्यान दिनुपर्छ ।’ नागरिकहरूको सुरक्षालाई भन्दा पनि उडानलाई महत्व दिने गरेको उनले गुनासो गरे । विमानस्थल विस्तार गरी उडान बढाउँदा पनि कतिपय अवस्थामा आकाशमा हवाई स्पेश नहुनुले समस्या आउने उनले बताए । उडानको प्रक्रिया धेरै लामो भएकोले नागरिकहरूले विमानस्थलमागरिएको चेकजाँचलाई समेत नकारात्मक दृष्टिले हेर्ने उनले बताए ।

भेरीगंगाको छिन्चुमा विमानस्थलको कुरा हल्ला मात्रै भएको भन्दै प्रमुख पन्थीले विमानस्थलको विस्तारको डर देखाउँदै नागरिकलाई भू–माफियाहरूले लुटेको आरोप लगाए । शनिवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पन्थीले चुनौतीका बाबजुद् पनि नागरिक अगुवाहरूले चाहेको खण्डमा दैनिक आन्तरिक उडान गर्न सकिने बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थल अन्य जिल्लाका विमानस्थलहरूबाट नजिक पर्ने र यसले कर्णालीका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उनले बताए ।

कर्णालीको सडकहरू जीर्ण र जोखिम भएकाले आन्तरिक उडान भर्न सकेको खण्डमा कर्णालीमा पर्यटकको घुईंचो लाग्ने उनको भनाइ छ । सुर्खेत विमानस्थलले हाल सुर्खेत–काठमाडौं दैनिक एउटा मात्रै उडान भर्दै आएको छ । बुद्ध एयरले भर्ने उडान डिले हुँदा नागरिकहरू गन्तव्यमा पुग्न सक्दैनन् । अधिकांश कर्णालीवासी हवाई यात्रा गर्नको लागि नेपालगन्ज जाने गर्दछन् । नेपालगन्ज राँझा विमानस्थलको हवाई भाडादर भन्दा सुर्खेत विमानस्थलको हवाई भाडादर दोब्बर भएको नागरिकहरूको गुनासो छ । हवाई भाडादर दोब्बर भए पनि समयमै उडान नहुनुले सुर्खेत विमानस्थलप्रतिको जनविश्वास घटेको छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७६, आईतवार ०९:३५