एचआईभी संक्रमितलाई राज्यबाटै बेवास्ता
सुर्खेत : राज्यबाटै आफूहरूलाई विभेद र बेवास्ता गरिएको भन्दै एचआईभी संक्रमितहरूले असन्तुष्टी जनाएका छन् । समाजमा पुनस्र्थापना हुन समस्या भोगिरहेका संक्रमितहरूलाई लक्षित गरेर सरकारले पनि कुनै योजना र कार्यक्रम नल्याएको उनीहरूको गुनासो छ । कर्णाली प्रदेश अस्पतालले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको एचआईभीको नियन्त्रणका लागि समुदायको प्रभावकारी भूमिका विषयक सेवा प्रदायक, सेवाग्राही, जनप्रतिनिधि र सरोकारवालाबीचको अन्तरक्रियामा सहभागीहरूले यस्तो गुनासो गरेका हुन् । सहभागीहरूले जनप्रतिनिधिहरूले स्थानीय तहमा एचआईभी संक्रमित लक्षित बजेट छुट्याउनुपर्नेमा समेत जोड दिएका छन् । हालसम्म संक्रमितका लागि भनेर कुनै पनि कार्यक्रम र बजेट नछुट्याएको भन्दै एचआईभी संक्रमितहरूले बजेट छुट्याउनुपर्ने माग राखेका हुन् ।
नवकिरण प्लसका देवेन्द पाठकले अझै पनि संक्रमितहरूप्रति भेदभाव कायमै रहेको बताए । उनले एचआईभी नियन्त्रण गर्न गरिएका कार्यक्रमहरू प्रभावकारी गराउनुपर्नेमा जोड दिए । अहिले नजिकैका स्थानीय तह, प्रदेश सरकार भए पनि एचआईभी संक्रमितकै लागि भनेर त्यस्ता लक्षित कार्यक्रम नल्याएको उनले गुनासो गरे । संक्रमितहरू मात्र होइन अन्य सरोकारवालाहरूले पनि उनीहरूलाई सहज जीवनयापनका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरखबहादुर रावतले एचआईभी संक्रमित व्यक्तिका लागि रोजगारी सृजनाको नीति ल्याएर काम गर्नुपर्ने बताए । उनले चेतना मात्र नभएर समाजमा सहज रूपमा बाँच्न दिनका लागि उनीहरूका लागि व्यावसायिकमा जोड दिनुपर्ने उल्लेख गरे ।
प्रदेश अस्पताल सुर्खेतका डा. डम्बर खड्काले टोलस्तरबाट एचआईभीका विषयमा जानकारी दिने र उपचारमा सहज गराउन ठोस नीति बनाएर लाग्नुपर्ने धारणा राखे । एचआईभीलाई न्यूनीकरण गर्नका लागि चेतनासँगै सबैले महसुस गर्नुपर्ने पनि बताए । विद्यालयस्तरदेखि नै कार्यक्रमहरू सञ्चालन गर्ने, उपचारमा सहज गराउने, आयआर्जनका कार्यक्रमको ठोस नीति तथा योजना गराएर अघि बढ्न सके नियन्त्रण गर्न सम्भव रहेको उनको भनाइ छ । खड्काले प्रत्येक स्थानीय तहले प्रत्येक घर–घरमा स्वास्थ्य सम्बन्धी जानकारी गराउन सुरुवात गर्न पनि सुझाव दिए ।
सहभागीहरूले एचआईभी संक्रमित व्यक्तिका लागि पोषण र आयआर्जनलक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएका छन् । उनीहरूको उपचारसँगै पोषण र आयआर्जनमा स्थानीय सरकार र प्रदेश सरकारले ध्यान दिनुपर्नेमा एचआईभी संक्रमित र सरोकारवालाहरूले जोड दिएका हुन् । अहिले टोलटोलमा जनप्रतिनिधि हुने भएकाले विशेष गरेर स्थानीय सरकारले यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
कर्णाली प्रदेशमा तीन हजार एक सय जना एचआईभी संक्रमित भएको अनुमान गरिए पनि हालसम्म पाँच सय ९० जना फेला परेका छन् । प्रदेश अस्पताल सुर्खेतका अनुसार एआरटी क्लिनिकबाट पाँच सय ६३ जना एचआईभी संक्रमितहरूले सेवा लिएका छन् । सबैभन्दा बढी सुर्खेतमा रहेका छन् । सुर्खेतमा दुई सय ९२ जना संक्रमित छन् भने दैलेखमा २९ जना, कालिकोटमा सात जना, जाजरकोटमा दुई जना, रुकुममा दुई जना, जुम्लामा एक जना, अछाममा पाँच जना, मुगुमा एक जनाले उपचार सेवा लिएका छन् ।
प्रकाशित मितिः १५ मंसिर २०७६, आईतवार ०९:२६
साझा बिसौनी ।