‘राष्ट्रियता खतरामा’

सुर्खेत : बढ्दो सीमा अतिक्रमणले राष्ट्रियता खतरामा रहेको सुर्खेतका बुद्धिजीवीहरूले बताएका छन् । अखिल नेपाल बुद्धिजीवी संघ सुर्खेतले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरूले राष्ट्रियताको रक्षाका लागि सीमा अतिक्रमण रोक्नुपर्ने धारणा राखेका हुन् ।

लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको भएको प्रमाण हुँदाहुँदै पनि सरकारले गम्भीर भएर कुटनीतिक पहल नगरेको आरोप बुद्धिजीवीहरूको छ । अन्तरक्रिया कार्यपत्र प्रस्तुत गर्दै संघ सुर्खेतका अध्यक्ष एवम् केन्द्रीय सदस्य भानुभक्त भारतीले भारतले नेपालको पश्चिमी सीमानामा लिम्पियाधुरादेखि कालापानी लिपुलेकसम्म तीन सय ८५ वर्ग किलोमटिर भन्दा बढी भू–भागलाई आफ्नो राजनीतिक नक्सामा देखाएपछि त्यसको विरुद्धमा सबै नेपालीको गम्भीर ध्यानाकर्षण भएकोले नेपाली भूमि बचाउनका लागि सरकारले पहल गर्नुपर्ने बताए । सुगौली सन्धी हुनु भन्दा अगाडिको नेपाल अहिले भन्दा ६० प्रतिशत ठूलो रहेको बताउँदै भारतले जम्मुकस्मिरको विशेषाधिकार हनन् गरी जबर्जस्ती अतिक्रमण गरेजस्तै नेपालमाथि पनि जबर्जस्ती गर्न थालेकोमा उनले आपत्ति प्रकट गरे । उक्त अन्तरक्रियामा राजनीतिक रूपमा सत्तापक्ष र प्रतिपक्षले समेत एक स्वरमा भारतको विरोध गर्नुपर्ने अवधारणा–पत्रमा उल्लेख छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७६, आईतवार ०९:२५