गढी संरक्षण गर

सुर्खेतमा धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुको कमी छैन । तर यस्ता कतिपय स्थलहरु भने संरक्षण र प्रचार नहुँदा ओझेलमा पर्दै आएका छन् । ओझेलमा परेका तिनै स्थलहरुमध्येको एक हो, वीरेन्द्रनगर नगरपालिका वडा न. १४ मा रहेको बयलकाँडा गढी । बहादुर शाहको पालामा वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुन्द्री सतहदेखि एक हजार पाँच २२ मिटर माथि छ । यसको आफ्नै ऐतिहासिक महत्व छ ।

गढी आफैमा इतिहास बोकेका स्थल हुन् । नेपाल एकिकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखमा बनाउँदा सुर्खेतमा पनि गढी बनाइएको हुन सक्ने अनुमान गरिएको छ । त्यसले पनि त्यहाँ उत्खनन् गरे केही प्रमाण फेल पर्न सक्ने देखिन्छ । तर इतिहासको संरक्षण गर्नेतर्फ भने हाम्रो ध्यान पुग्न सकेको छैन । जसले गर्दा बयलकाँडा गढी पनि भग्नावशेषमा परिणत भएको छ । पछिल्लो समय त गढीको स्वरूप नै बिग्रिदै गएको छ । स्थानीयका अनुसार त्यस क्षेत्रमा पहिले वरिपरी ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोलि हान्न गराइएका पर्खालमा प्वाल देखिने गरेपनि पछिल्लो सयम सबै पुरिदै गएका छन् । संरक्षण र उत्खनन हुनुपर्नेमा अस्तित्व नै गुम्ने अवस्थामा पुग्नु विडम्वनापूर्ण अवस्था हो ।

यो गढीले केवल इतिहास मात्रै बोल्दैन पर्यटकीय गन्तव्य बन्ने सम्भावना पनि बोकेको छ । इतिहास बुझ्न चाहनेहरुका लागि यो एक गन्तव्य बन्न सक्छ । नेपाल सरकारले समेत पर्यटन विकासलाई प्राथमिकतामा राखेको बेला गढीको संरक्षणलाई जोड दिन सकिन्छ । हुन त यसको संरक्षण, प्रचारप्रसार, उत्खनन् र पुर्ननिर्माणका लागि यस क्षेत्रका मन्त्री, नेता, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवालासँग कुरा राखेपनि सोचे अनुसार परिणाम नदेखिएको स्थानीयवासीहरु बताउँछन् । त्यति मात्र होइन बयलकाँडा गढीको संरक्षणको बिषयमा तत्तकालिन गढी गाविस हुँदैदेखि छलफल हुँदै आएको हो । स्थानीयहरुले अहिले त्यहाँ रेखदेख गर्नका लागि संरक्षण समिति पनि बनाएका छन् । तर यति मात्र पर्याप्त छैन । नयाँ सबुजगण कपासे ब्यारेक, सुर्खेतले गढीको संरक्षण र प्रचारप्रसारमा केही भएपनि पहल भने गरिरहेको छ । झाँडीले भरिएको गढीको नेपाली सेनाले बेलाबेलामा गएर सरसफाई गर्ने गरेको छ । गढीको बिषयमा अध्ययन र अनुसन्धान हुन आवश्यक छ । यसका लागि सबैभन्दा पहिला यहाँको स्थानीय तह र पुरातत्व विभागले यसको संरक्षणमा ध्यान दिनुपर्दछ । यसो गर्न सकेको खण्डमा आन्तरिक पर्यटनको राम्रो सम्भावना देखिन्छ । इतिहास बुझ्न, अध्ययन गर्न र अवलोकन गर्न आउने पर्यटकहरुको संख्या वृद्धिसंगै स्थानीय स्तरमा रोजगार सृजना गर्न सकिन्छ ।