होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा


सुर्खेत : होटल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन सुर्खेतमा हुने भएको छ । आगामी पुस ४ र ५ गते सुर्खेतमा महाधिवेशन आयोजना हुने होटल व्यवसायी संघ सुर्खेतले जानकारी दिएको छ ।

महाधिवेशनको उद्घाटन संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने सुर्खेतका अध्यक्ष गोरखबहादुर रावतले जानकारी दिए । महाधिवेशनले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने अध्यक्ष रावतले बताए । ‘कर्णाली प्रदेशमा आउने हरेक व्यवसायीलाई अर्गानिक खाना खुवाउने तथा सुर्खेत र दैलेखका पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना बनाएका छौं,’ उनले भने, ‘दैलेखको ज्वाला क्षेत्र, मुगुको रारा, डोल्पाको से–फोक्सुण्डो, सुर्खेतका काँक्रेविहार, बुलबुले, सल्यानको कुपिण्डे दहमा लैजाने योजना बनाएका छौं ।’ उनले महाधिवेशनले कर्णालीमा पनि राम्रो होटल छन् भन्ने सन्देश देशव्यापी रूपमा जाने बताए । महाधिवेशनमा देशैभरका एक हजार पाँच सय ५० बढी व्यवसायीको सहभागिता रहनेछ ।

प्रकाशित मितिः   १५ मंसिर २०७६, आईतवार ०९:२१