मिलन चौतारीको १३औं साधारणसभा

सुर्खेत : मिलन चौतारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतको १३औं साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाबाट संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम पारित गरिएको छ । सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष नवराज देवकोटाले आर्थिक वर्ष २०७५÷०७६ मा तीन करोड ३० लाख ६३ हजार बराबरको कारोबार भएको जानकारी दिए । उनका अनुसार सहकारीको शेयर पूँजी २५ लाख १५ हजार रहेको छ ।

संस्थाले जग्गा खरिद तथा घर निर्माण, शैक्षिक कर्जा, व्यापार कर्जा, कृषि तथा पशुपालन, औषधि उपचार र घरायसी ऋण गरी ६ प्रकारका कर्जा प्रवाह गर्दै आएको सचिव कृष्णाकुमारी उपाध्यायले जानकारी दिइन् । यस्तै सोही कार्यक्रममा संस्थाले विभिन्न सम्मान तथा पुरस्कार पनि वितरण गरेको छ । धेरै शेयर खरिदकर्तामा यामप्रसाद गौतम र जानकी देवकोटा, ज्येष्ठ नागरिकतर्फ रुद्रलाल देवकोटा र टीकादेवी पौडेल, असल बचतकर्तातर्फ चिरञ्जीवीकेशर खनाल र यामकुमारी चालिसे, असल ऋणीतर्फ डम्मरबहादुर खत्रीलाई पुरस्कृत तथा सम्मान गरिएको सचिव उपाध्यायले बताइन् ।

उनका अनुसार छात्रवृत्तितर्फ कुमार नेपालीलाई र सुत्केरी स्याहार राहत कार्यक्रम अन्तर्गत चन्द्रा खत्री कार्कीलाई प्रदान गरिएको छ । साधारणसभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका प्रतिनिधि वीरबहादुर रावतले सहकारीमार्फत समृद्धि ल्याउन सकिने बताए । उनले सहकारीले सामूहिक सफलता मिल्ने भन्दै गरिबी हटाई समृद्धिका लागि सहकारीको परिचालन अपरिहार्य भएको बताएका हुन् । यज्ञप्रसाद देवकोटाको अध्यक्षतामा भएको साधारणसभामा नेफस्कूनका छत्रप्रसाद धमला, सल्लाहकारहरू टीकाराम देवकोटा, लोकप्रसाद देवकोटा, प्रेमबहादुर घले, गोविन्दप्रसाद आचार्य, कुलमणि देवकोटा लगायतको उपस्थिति रहेको थियो ।