स्वस्थ हुँदै प्रधानमन्त्री, अभै दश दिन अस्पतालमा

काठमाडौं : एपेन्डिटाइटिस भएर पेटभरी संक्रमण फैलिएपछि गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली क्रमशः स्वस्थ हुँदै गएका छन् । मंगलवार दिउँसो पेट चिरेर अप्रेशन गरिएपछि पटक–पटक गम्भीर अवस्थामा पुगेका प्रधानमन्त्रीको स्वास्थ्यमा बिहीवारदेखि राम्रो सुधार भएको हो ।

त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीले बिहीवारदेखि चिकित्सकहरूसँग संवाद थालिसकेका छन् । उनलाई बिहीवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले १५ मिनेटसम्म भेट गरेकी थिइन् । बुधवार बिहानदेखि होस खुलेसँगै प्रधानमन्त्रीले चिकित्सकसँग हाँसो ठट्टासहित संवाद सुरु गरेका थिए । बुधवारै बाहिरको वातावरणबारे चासो राखेपछि चिकित्सकहरूले कहाँ जाने ? भनेर उनलाई प्रश्न गरेका थिए ।

बाहिरकोराजनीतिक वातावरण र आफ्नोबारे बाहिर भइरहेको चर्चाबारे प्रधानमन्त्रीले बुधवारदेखि नै जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले निजी चिकित्सक डा. अरुण सायमीलाई आफ्नोबारेमा कुनै पनि कुरा नलुकाउन भनेपछि शुक्रवार उपचारमा संलग्न सबै चिकित्सकको उपस्थितिमा पत्रकार सम्मेलन गरियो । उक्त पत्रकार सम्मेलनमा चिकित्सकहरूले प्रधानमन्त्रीलाई अझै कम्तीमा साता दिन अस्पतालमै राख्नुपर्ने बताउँदै घाउ पुरै निको हुन १० दिनजति लाग्ने बताएका छन् । पुरै पेटमा संक्रमण भएकाले अझै एकसाता आईसीयूमै राखेर निगरानी गर्नुपर्ने जानकारी प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले दिइन् ।

किताब पढेर सुनाइँदै चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा धेरै राम्रो भएको बताइसकेका छन् । प्रधानमन्त्रीको अवस्थाले सुरुमा निराश पत्नी राधिका शाक्यले शुक्रवारदेखि किताब पढेर सुनाउँदैछिन् । सुरुदेखि नै भेन्टिलेटर र आईसीयूमा पनि प्रधानमन्त्रीलाई भेट्न पाइरहेकी राधिकालाई चिकित्सकहरूले यस्तो अनुमति दिएकी हुन् ।

घाउ विस्तारै निको हुँदै गएपछि उनले प्रधानमन्त्रीलाई अझै फ्रेस बनाउन किताब पढ्न र गीत बजाएर सुनाउन अनुमति मागेकी थिइन् । ‘प्रधानमन्त्रीको सुरुको अवस्था देख्दा हामी सबै आत्तिएका थियौँ । त्यसैले ‘क्विक डिसिजन’ लिएर पेटको संक्रमण फैलिन नदिन अप्रेसन ग¥यौँ’, एकजना चिकित्सकले भने, ‘प्रधानमन्त्री होसमा फिरेसँगै भएको सुधारले हामीलाई पनि चकित बनाएको छ । स्वास्थ्यमा सुधारसँगै घाउ निको भइनसकेको अवस्थामा पनि प्रधानमन्त्रीले सक्रिय हुन खोजेको देख्दा आश्चर्य लागेको छ ।’ बुधवार होसमा आएपछि कालो चिया पिएका प्रधानमन्त्रीले बिहीवार बिहान दाल पिएका थिए । अलिक फ्रेस हुँदै गएपछि शुक्रवार बिहान चिकित्सकहरूले अण्डाको सेतो भाग खान दिएका छन् ।

‘विस्तारै फ्रेस हुँदै जानु भएको छ । शुक्रवार बिहानै अण्डाको सेतो भाग खानु भयो’, ती चिकित्सकले भने, ‘तर उहाँलाई हतारमा बिदा गर्दैनौँ । घाउ पाकेर संक्रमण हुने डर भएकाले निरन्तर निगरानीमा राखेका छौँ ।’ पीडा सहँदै पुगेका थिए मंगलवार बिहान ९ बजे बालुवाटारबाट मनमोहन सेन्टरमा पुग्दा प्रधानमन्त्री असह्य पीडाले छटपटिइरहेका थिए । मुख खुल्ला राख्दा रोएको आवाज आउने चिन्ताले उनले हातले छोपेका थिए । ‘यहाँ आउँदा उहाँ अत्यधिक पीडामा देखिनु भएको थियो, रोएको आवाज आउँछ भनेर मुखमै औँला हाल्नुभएको थियो’, उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यस्तो पीडा सहेर आएको मान्छे यति चाँडै तगडा हुन्छ जस्तो लागेकै थिएन । यो सुधार देखेर अचम्मित छौँ ।’

आईसीयूमै खोजे टीभी स्वास्थ्यमा सुधार भएसँगै प्रधानमन्त्रीलाई बाहिरी दुनियाँको चिन्ता छटपटी बढाएको छ । हाल मनमोहनको पाँचौ तलको सघन उपचार कक्ष (आईसीयू) मा रहेका उनलाई चाँडो भन्दा चाँडो बालुवाटार फर्किने हतारो छ । तर यो पटक चिकित्सकहरू कुनै सम्झौता नगर्ने मुडमा देखिएका छन् । अझै कम्तीमा एक साता अस्पतालमै राख्ने निर्णय चिकित्सकहरूले लिइसकेका छन् । यस्तोमा प्रधानमन्त्रीलाई राजनीतिक घटनाक्रम र जनताका कुरा सुन्न आतुरी भएको छ ।

उनले बाहिर जान हतारो देखाएसँगै बाहिरका कुरामा अपडेट हुन पनि चाहेका छन् । चिकित्सकहरूसँग ठट्टा गरिरहने प्रधानमन्त्रीले शुक्रवार आईसीयूमै टेलिभिजन खोजेका छन् । ‘आईसीयूमा त टिभी नै रैनछ नि’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने, ‘के कसो हुँदैछ, बाहिरतिर कस्तो छ हल्ला, खल्ला ? मेरो अवस्थाबारे केही कुरा नलुकाइ भनिदिनु नि ।’

प्रकाशित मितिः   १४ मंसिर २०७६, शनिबार १४:४८