उपेक्षामा ऐतिहासिक गढी

मुना हमाल,
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ मा रहेको बयलकाँडा गढी संरक्षण र प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको गढी संरक्षणमा कसैको ध्यान पुगेको छैन । उक्त ठाउँमा नयाँ सबुज गण कपासे ब्यारेक सुर्खेतद्वारा ऐतिहासिक बयलकाँडा गढी लेखेको बोर्ड राखिएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले केही बजेट लगानी गरेर गढी क्षेत्रमा तारबार मात्र गरेको छ । कतै शिलालेख तथा दस्तावेजमा नलेखिए पनि बहादुर शाहको पालामा वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको स्थानीयको भनाइ छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुन्द्री सतहदेखि एक हजार पाँच २२ मिटर माथि छ । गढी ननिकै बटुक भैरवको मन्दिर बनाइदै छ ।

पछिल्लो समय गढीको स्वरूप नै बिग्रिदैं गएको छ । वि.सं. २०३० सालदेखि बसोबास गर्दै आएका स्थानीय तिलकराम चालिसेले त्यस क्षेत्रमा पहिले वरिपरी ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्न गराइएका पर्खालमा प्वाल देखिने गरे पनि पछिल्लो सयम सबै पुरिदै गएको बताए । संरक्षण र प्रचार–प्रसारमा देशका अन्य गढी भन्दा बयलकाँडा गढीको विषयमा कसैले चासो नदिएको उनको भनाइ छ । यसको संरक्षण, प्रचार–प्रसार, उत्खनन् र पुनर्निर्माणका लागि यस क्षेत्रका मन्त्री, नेता, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवालासँग कुरा राखे पनि सोचे अनुसार परिणाम नदेखिएको उनले गुनासो गरे ।

बयलकाँडा गढीको संरक्षणको विषयमा तत्कालीन गढी गाविस हुँदैदेखि छलफल हुँदै आएको छ । स्थानीयहरूले अहिले त्यहाँ रेखदेख गर्नका लागि संरक्षण समिति बनाएका छन् । समितिको निर्वतमान अध्यक्ष समेत रहेका स्थानीय दिलबहादुर खत्रीले बयलकाँडा गढीको संरक्षणमा राज्य पक्षबाट खासै ध्यान नदिएको गुनासो गरे । राज्यले यसको उत्खनन्, पुनर्निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । नयाँ सबुज गण कपासे ब्यारेक सुर्खेतले गढीको संरक्षण र प्रचार–प्रसारमा पहल गरिरहेको बताएको छ । झाँडीले भरिएको गढीको नेपाली सेनाले बेलाबेलामा गएर सरसफाइ गर्ने गरेको छ । पृथ्वी जयन्ती, एकता दिवसलगायतका अवसरमा त्यहाँ गएर सरसफाइ जस्ता कार्यक्रम गर्ने गरिएको ब्यारेकका गणपति झुलेन्द्रविक्रम बस्नेतले जानकारी दिए । गढीको विषयमा अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको उनको भनाइ छ । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने समयमा दैलेखमा बनाउँदा सुर्खेतमा पनि बनाइएको हुन सक्ने अनुमान गरिएकोले पनि त्यहाँ उत्खनन् गरे केही प्रमाण फेल पर्न सक्ने ब्यारेकका गणपति बस्नेत बताउँछन् । दैलेखमा रहेको कोतगढीसँग जोडेर यसको संरक्षण, प्रचार–प्रसार गरिनुपर्ने गणपति बस्नेतले बताए ।

पुरातŒव विभागको टोली आउँदै बयलकाँडा गढीको विषयमा अध्ययन गर्न पुरातŒव विभागबाट इन्जिनियरसहितको टोली ल्याउने तयारी भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले यही महिनाभित्र इन्जिनियरसहितको टोली आउने जानकारी दिए । यसको विषयमा पुरातत्व विभागबाट परामर्शपछि मात्रै त्यसैको प्रतिवेदनका आधारमा अघि बढ्ने सुवेदीले बताए । पुरातŒव विभागको अनुमतिविना केही गर्न नसकिने हुँदा अहिले तारबार गरेर संरक्षण गरिएको उनले जनाए ।

‘हामीले त्यहाँ केही गर्न सक्दैनौँ । अहिले हामीले यसको संरक्षणका लागि मात्र तारबार गरेका छौँ । अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा योजना बनाउँछौँ ।’ गढीको संरक्षण र प्रचार–प्रसार गर्न सकिने आन्तरिक पर्यटनको राम्रो सम्भावना देखिन्छ । इतिहास बुझ्न, अध्ययन गर्न र अवलोकन गर्न आउने पर्यटकहरूको संख्या वृद्धिसँगै स्थानीयस्तरमा रोजगार सृजना गर्न सकिने स्थानीय बताउँछन् । तर यसका लागि राज्यले चासो दिनुपर्ने स्थानीय बिरु थापाले बताए । उनले स्थानीय नागरिकको आर्थिक आयआर्जनमा पनि वृद्धि गर्न सकिने जनाए । साथै यसको अन्वेषण गर्न सक्यो भने अझै ऐतिहासिक तथा पर्यटनका हिसाबले महत्व राख्ने उनको भनाइ छ । ऐतिहासिक रूपमा लिएको बयलकाँडा गढी प्रदेश सरकारको नजिकै हुँदा पनि यसको संरक्षण र प्रचार–प्रसारको कुनै योजनामा परेन । प्रदेश सरकारले यसको प्रचार–प्रसारमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।

प्रकाशित मितिः   १४ मंसिर २०७६, शनिबार १४:५२