तीन विधामा पुरस्कार स्थापना

सुर्खेत : कर्णाली साहित्य समाजले तीन वटा विधामा पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । हरेक वर्ष प्रदान गर्नेगरी दुई वटा पुरस्कार तथा एउटा सम्मानको घोषणा गरिएको हो ।

साथै यस वर्षका लागि पुरस्कृत हुने कृति र लेखक समेत छनौट गरिएको छ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो राशीको साहित्यिक कृति पुरस्कारबाट यस वर्ष महेश थापाको कथा संग्रह ‘मरीचिका’ पुरस्कृत हुने भएको छ । यो नगद ५० हजार राशीसहितको पुरस्कार हो । २०७५ सालमा प्रकाशित कृतिहरूमध्येबाट उत्कृष्ट छनौट गरी मरीचिकालाई पुरस्कृत गर्न लागिएको हो ।

यसैगरी कर्णाली साहित्य प्रतिभा पुरस्कारबाट आख्यानकार बुद्धिसागर पुरस्कृत हुने भएका छन् । उनलाई नगद २५ हजारसहित पुरस्कृत गर्न लागिएको हो । साहित्य सिर्जनामा लागेका कर्णालीका सर्जकहरूमध्येबाट बुद्धिसागरलाई छनौट गरिएको हो । कर्णालीमै जन्मिएर नेपाली भाषा साहित्यमा विशेष योगदान दिएकामध्येबाट प्रत्येक वर्ष एक जनालाई यो पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए । बुद्धिसागर कर्णालीकै कालिकोटमा जन्मिएका हुन् । उनले ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’जस्ता चर्चित कृति लेखेका छन् ।

समाजले कर्णालीको भाषा र साहित्यको विकासमा विशेष योगदान पु¥याएवापत कवि श्यामललाई कर्णाली साहित्य साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ । दैलेखका स्रष्टा श्यामल कवि तथा निबन्धकार हुन् । यो सम्मान पनि हरेक वर्ष प्रदान गरिने समाजले जनाएको छ । पुरस्कार तथा सम्मान मंसिर २१ गते सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । कर्णालीका साहित्यकारहरूलाई सम्मान तथा प्रोत्साहन गर्नुका साथै नेपाली साहित्यको विकासमा सघाउ पु¥याउन तीन वटा विधाका पुरस्कार स्थापना गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०७६, शनिबार १४:४०