मगर संघको भेला

सुर्खेत : नेपाल राष्ट्रिय मगर संघले सुर्खेतको वीरेन्द्रनगरमा जिल्लास्तरीय बृहत भेलाको सम्पन्न गरेको छ । भेलामा सहभागीहरूले मगरहरूको हक र अधिकारको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपाली कांग्रेसको कान्छो भ्रातृसंस्थाको रूपमा रहेको संघलाई बलियो बनाउन सकेमात्र कांग्रेस बलियो हुने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली कांग्रेसको विधानले मगरहरूलाई धेरै अधिकार दिएको भन्दै अधिकारको प्रयोग गर्न आग्रह गरे । उनले मगर समुदायले लोकतन्त्र प्राप्तिको लागि धेरै संघर्ष गरेको स्मरण गर्दै अब कांग्रेसलाई बलियो बनाउन जिम्मेवारी पनि मगर संघको रहेको उल्लेख गरे । नेता थानीले वर्तमान दुई तिहाईको सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको टिप्प्णी समेत गरेका थिए । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले मगर समुदायले देशको लागि ठूलो योगदान गरेको भन्दै अब आफ्नो लागि लड्नुपर्ने समय आएको बताए । यस्तै पूर्व सभापति एवम् पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टले एकता र जिम्मेवारीको साथ अगाडि बढ्न मगर समुदायलाई आग्रह गरे । नेपाल मगर संघका केन्द्रीय महामन्त्री ईच्छु राना मगरले दुई तिहाईको सरकारको गलत कामको विरुद्ध लड्न मगर समुदायलाई अपिल गरे । नेपाली कांग्रेसको सिद्धान्त र आचरण, नेतृत्व विकास तथा राजनीतिमा मगर समुदायका विषयमा छलफलको हुन जरुरी रहेको उनले औल्याए ।

बदलिँदो राजनीतिक परिस्थितिमा अबका दिनहरूमा मगर समुदायले आफ्नो पहिचान राख्न के कस्ता काम गर्ने जस्ता विषयका बारेमा भेलामा जानकारी गराइएको थियो । कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, सचिव टोपबहादुर रावत, महिला संघका पार्वती गिरी, क्षेत्रीय सभापति खड्क पोखरेल, लालविर भण्डारी, सह–क्षेत्रीय सभापति नारायण कोइराला, दलित संघ सुर्खेतका अध्यक्ष भिम शाही परियार लगायतको सहभागिता रहेको थियो । भेला नेपाल मगर संघ सुर्खेतका अध्यक्ष कर्णबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १४ मंसिर २०७६, शनिबार १४:३९