जंगली च्याउले पु¥यायो अस्पताल

IMG_20160714_201049

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० असार ।
जंगली च्याउ खाँदा पश्चिम सुर्खेतको विद्यापुरमा ११ जना बिरामी भएका छन् । बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
स्थानीय शेरसिंह बास्तोलाको घरपैंचो कार्यक्रममा पकाएको च्याउ खाएपछि गाउँलेहरू बिरामी भएका हुन् । विद्यापुर–८ मा बिहीवार बास्तोलाको नयाँ घर निर्माण भएको अवसरमा घरपैंचो आयोजना गरिएको थियो । सोही अवसरमा जंगलबाट ल्याइएको च्याउ गाउँलेहरूले खाएका थिए ।
च्याउ खाएपछि बिरामी भएकाहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको थियो । तर उनीहरूको अवस्था गम्भीर भएपछि बिहीवार राती नै थप उपचारका लागि वीरेन्द्रनगर ल्याइएको हो । कालागाउँमा रहेको क्षेत्रीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । उपचारका लागि ल्याइएका ११ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ७२ वर्षीया नन्दकला गिरी, २१ वर्षीय चन्द्रप्रसाद खनाल र २० वर्षीय राधा बास्तोलाको अवस्था गम्भीर छ ।
बिहान ११ बजे उनीहरूले जंगलबाट ल्याइएको च्याउ खाएका थिए । त्यसपछि उनीहरूमा बान्ता गर्ने, पखाला लाग्ने र बेहोस हुने समस्या देखापरेको थियो । स्थानीय बासिन्दा भक्तिप्रसाद घिमिरेले जंगलबाट ल्याइएको च्याउ खाएपछि एघार जना बिरामी भएको जानकारी दिए । बिरामीलाई सदरमुकाम ल्याउन एम्बुलेन्स अभाव भएको थियो । एउटा मात्र एम्बुलेन्स भएका कारण बिरामीलाई मोटरसाइकल र सार्वजनिक बसमा वीरेन्द्रनगर ल्याइएको हो ।
बिरामीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख बसन्त अधिकारीले विषालु च्याउ खाँदा उनीहरू बिरामी भएको बताए । साथै उनले अहिले वर्षातको समय भएका कारण जंगलमा च्याउ पाइने र सेवन गर्ने क्रम बढेको भन्दै सचेत हुन आग्रह गरे । बिरामी भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, नेपाली कांग्रेसका सभापति कमलराज रेग्मी, एमाले सचिव मोहन बडुवाल, डीएसपी बहादुरजंग मल्ल र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी क्षेत्रीय अस्पताल पुगेका थिए । उनीहरूले बिरामीलाई भरपर्दो उपचार गर्न अस्पतालका चिकित्सकहरूलाई सुझाव दिएका थिए ।

प्रकाशित मितिः   ३१ असार २०७३, शुक्रबार ०९:५५