‘लिम्पियाधुरासँगै सुस्ताको विवाद पनि टुंङ्गिन्छ’

काठमाडौं : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याको समाधान एकैपटक खोजिने बताएका छन् । ‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पियाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने ।

सीमा समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक नोटसमेत पठाइसकेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले कुटनीतिक र राजनीतिक रूपमा लिम्पियाधुरासँगै सुस्ताको सीमा समस्याको पनि समाधान गरिने बताएका हुन् । ‘कागजात जुटाएर तथ्यगत आधारमा भारतसँग कुरा गरेर लिम्पियाधुरा मात्रै होइन सुस्ताको विवाद पनि टुंग्याउँछ,’ मन्त्री बाँस्कोटाले भने । नवलपरासीको सुस्ताको सीमा नारायणी नदीले फेरिरहने बाटोले पनि समस्या भएको स्थानीयले बताउँदै आएका छन् ।

संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध समितिले पनि सबै क्षेत्रका सीमा विवाद एकै पटक हल गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन गरेको थियो । संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल भारत सन्धीका सक्कल कपी नेपालसँग नरहेको पाइएको भन्दै निकालेको निश्कर्षको भने मन्त्री बाँस्कोटाले खण्डन गरेका थिए । ‘हामीले गरेका सन्धी–सम्झौताको सक्कल नै छैन भनेर निश्कर्ष निकाल्नु हतारको निर्णय हुन सक्छ’ बाँस्कोटा भन्छन्, ‘हामीसँग नभए पनि अन्य देशका म्यूजियमहरूमा हुन सक्छ । त्यसको पनि खोजी गर्नुपर्छ ।’

प्रकाशित मितिः   १३ मंसिर २०७६, शुक्रबार ०९:१२