भाडाकै घरमा गाउँका सिंहदरबार

उदयराज अधिकारी,
दैलेख : स्थानीय सरकार सञ्चालनमा आएको दुई वर्ष बितिसक्दासम्म पनि दैलेखका आधाभन्दा बढी स्थानीय तह आफ्नै कार्यालय भवनविहिन छन् । जिल्लाका ११ मध्ये सात वटा स्थानीय तह भाडाकै घरबाट सञ्चालनमा छन् । आफ्नै भवन नहुँदा वर्षेनी लाखौं रकम भाडामै खर्च गर्ने हुने गरेको छ ।

गाउँपालिका र नगरपालिकाको मात्र होइन जिल्लामा अधिकांश वडा कार्यालयलगायत गाउँपालिकाका विषयगत शाखाहरू पनि भाडामा सञ्चालित छन् । भाडाको घरमा बस्ने हरेक स्थानीय तहले वार्षिक पाँच लाखदेखि आठ लाखसम्म भाडा तिर्ने गरेका छन् । तर, स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्नेतर्फ भने ध्यान दिएका छैनन् ।

स्थानीय तहको केन्द्र विवाद, जग्गा खरिदजस्ता समस्याले गर्दा आफ्नै भवन निर्माण गर्न नसकिएको स्थानीय तहले बताएका छन् । भाडाकै घरमा बसेर सेवा दिँदा वर्षेनी लाखौं रकम भाडामा खर्च हुने भएपछि गाउँपालिकाले भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । उनले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध भइसकेकाले भवन निर्माण साझेदारीका लागि संघीय सरकारसँग माग गरिएको जानकारी दिए ।

यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाले पनि भाडाको घरबाट सेवा दिइहेको छ । भाडामा लिएको घरबाट सेवा प्रवाह गर्न समस्या भएपछि नगरपालिकाले विद्यालयको भवनसमेत प्रयोग गर्ने गरेको छ । नगर प्रमुख सूर्यबहादुर शाहीले सहरी विकास मन्त्रालयले भवनको डिजाइन स्टमेट निर्माण गरेको र भवन निर्माणका लागि नगरपालिकाले एक करोड बजेट छुट्याएको बताए । उनले पनि अबको केही दिनभित्र निर्माणको काम सुरु गरिने जनाए । भैरवी गाउँपालिकाले भवन निर्माण गर्न एक करोड २५ लाख विनियोजन गरेर असारबाट निर्माणको काम सुरु गरिएको भए पनि तोकिएको समयमा सकिएको छैन । अहिले कार्यपालिकाले पुष मसान्तसम्म सम्पन्न गर्नेगरी म्याद थप गरेको गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी विष्टले बताइन् । गुराँस गाउँपालिकामा निर्वाचन भएको डेढ वर्षसम्म गाउँपालिका केन्द्रको विवाद रह्यो । केन्द्र विवाद मतदानबाट टुंग्याएको गाउँपालिकाले घोडाबासबाट गुराँसे सारेको गाउँपालिका केन्द्र एक वर्ष पुग्दासमेत आफ्नै भवन निर्माणमा चासो दिएको छैन । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गाउँपालिका भवन निर्माणका लागि एक करोड ३० लाख रकम विनियोजन गरेको बताए । आठबिस नगरपालिका र ठाटीकाँध गाउँपालिकाले भने आफ्नै भवन बनाउन चासो दिएका छैनन् । ठाटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले
गाउँपालिका भवन निर्माण गर्नका लागि अहिलेसम्म बजेट पनि नछुट्याइएको र जग्गाको पनि टुंगो नलागेको बताइन् ।

आफै गाउँपालिका अध्यक्ष, आफै घरबेटी

जिल्लाको नौमूले गाउँपालिका पनि भाडाकै घरमा बसेर सेवा दिइरहेको छ । तर, गाउँपालिकाको भवन गाउँपालिकाका अध्यक्षले आफ्नै घरमा भाडामा राखेकाले गाउँपालिकाले आफ्नो भवन बनाउन चासो नदिएको स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष आफै घरबेटी आफै अध्यक्ष बनेर आठ कोठा रहेको भवनबाट मासिक २० हजार भाडा बुझ्दै आएका छन् । जनप्रतिनिधि कमाउ धन्दामा लागेको स्थानीय बताउँछन् । नेकपा जिल्ला कमिटी सदस्य एवम् स्थानीय छवि सुवेदी भन्छन् ‘गाउँपालिका भवन नै गाउँपालिका अध्यक्षले कानुनी प्रक्रिया पूरा गरेर आफ्नै घरमा राखेको भए पनि राजनीतिक हिसाबले सुहाउँदैन ।’

जिल्लाका ११ वटै स्थानीय तहको अवस्था हेर्दा जनप्रतिनिधिको आफ्नो वा आफ्नो नभए आफन्तको घरमा कार्यालय राख्ने चलन बढ्दै गएको छ । यता स्थानीय तहका प्रतिनिधिहरूले भने प्रक्रिया पूरा गरेर घर भाडामा लिएको दावी गरेका छन् । नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइराला घर भाडामा लिँदा सबै प्रक्रिया पूरा गरेको बताए । उनले गाउँपालिका भवन भाडामा लिने सूचना खोलेर स्थानीय सात जनाले प्रस्ताव हालेको र गाउँपालिका अध्यक्षको घर कम रकममा पाइएकाले उक्त घर भाडामा लिने निर्णय कार्यपालिकाले गरेको बताए ।

प्रकाशित मितिः   १३ मंसिर २०७६, शुक्रबार ०९:१५