सामाजिक सुरक्षाकोष अनिवार्य गर्न माग

सुर्खेत : योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था अनिवार्य हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोष नेपालले दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सामाजिक सुरक्षा कोषलाई अनिवार्य गराउनुपर्ने बताए । ‘कर्णालीका श्रमिक तथा रोजगारदाताहरूलाई समेत श्रम ऐनमा के छ भन्ने कुरा थाहा छैन’ उनले भने ‘अब सबैलाई यसबारे जानकारी गराई कोषको व्यवस्था अनिवार्य गर्नुपर्छ ।’ अहिले पनि कर्णालीमा परम्परागत ढङ्गबाट श्रमिक र रोजगारदाताले काम गर्दै आएको उनले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिक नआएसम्म कर्णालीको विकास सम्भव नहुने उनको भनाइ रहेको थियो ।

त्यस्तै ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जय बिसीले समेत योगदानमा आधारित सामाजिक सुरक्षामा सबै कर्णालीका श्रमिक जोडिनुपर्ने धारणा राखेका थिए । ‘पार्टीगत ढङ्गले कोही पनि हिँड्नु हुँदैन’ उनले भने ‘श्रमिकहरूलाई सामाजिक सुरक्षामा जोड्नको लागि एकजुट भएर लाग्नुपर्छ ।’ कार्यक्रमका सहभागीहरूले योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै श्रमिकहरूको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीमा योगदानमा आधारिक सामाजिक सुरक्षा कोष लागु गर्ने कुरामा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक सुरक्षा कोष लागु भएमा भ्रष्टाचार कम हुने उनको भनाइ रहेको थियो ।

प्रकाशित मितिः   १२ मंसिर २०७६, बिहीबार ०९:३९