समाज रूपान्तरणमा युवा
युवालाई परिर्वतनको संवाहक शक्तिको रूपमा लिने गरिन्छ । जोश, जाँगर र ऊर्जाले भरीपूर्ण युवाशक्ति विकास र समृद्धिको आधार पनि हुन् । अहिले नेपालमा युवाको जनसंख्या धेरै छ । कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा छन् । झण्डै वार्षिक पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्दछन् । यद्यपि कामको खोजीमा रहेका युवाहरू मुलुकभित्र प्राप्त अवसरको अभावमा विदेशीएका छन् । प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि ४० लाख युवा बाहिरिएका छन् । गत आर्थिक वर्षमा मात्र कुल पाँच लाख आठ हजार आठ सय २८ नेपाली वैदेशिक रोजगारीका लागि गएको श्रम विभागको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये सात सय ८३ जना युवाले विदेशमै काम गर्दागर्दै ज्यान गुमाए । जोखिमपूर्ण काम र कामदारको सुरक्षाको राम्रो प्रबन्ध नहुँदा अकालमा ज्यान गुमाउन विवश छन् । विदेशमा श्रमिकहरूले पाउने दुःखको फेहरिस्त अझ डरलाग्दो छ ।
हालसम्म भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि करिब ४० लाखभन्दा बढी युवा रहेको तथ्यांकहरू सार्वजनिक भएका छन् । प्रतिदिन सरदर एक हजार पाँच सयको हाराहारीमा नेपाली वैदेशिक रोजगारीको शिलशिलामा बाहिरिन्छन् । रेमिट्यान्स राज्यको अर्थतन्त्रको मेरुदण्ड भएको छ । तत्काललाई हेर्दा यो अवस्था सामान्यजस्तो लागेपनि कालान्तरमा यसले निकै भयावह स्थिति सृजना गर्ने कुरामा कुनै शंका छैन । कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेका युवाहरू आफ्नो उर्जावान समय विदेशी भूमिमा श्रम र पसिना बगाउन बाध्य छन् । युवाको लागि वैदेशिक रोजगार रहर होइन बाध्यता भएको छ । युवाप्रधान मुलुकमा युवालाई नै बाहिर राखेर समृद्धिको गफ गर्न सुहाउने कुरा होइन । जबसम्म विकासको मूल प्रवाहमा युवाहरूलाई प्रत्यक्ष सहभागी गराउन सकिदैन तबसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न सक्दैन ।
को हुन् युवा ?
युवा नीतिले १६ देखि ४० वर्षसम्मलाई युवा मानेको छ । नेपालमा युवाको परिभाषा नै गलत छ । संयुक्त राष्ट्रसंघले युवाको उमेर समूहलाई १६ देखि २४ वर्ष भनी परिभाषित गरेको छ । अधिकांश देशले १६ देखि ३० वर्षलाई नै आधार मानेका छन् । विडम्बना हाम्रो देशमा भने तीन पुस्ता बा, छोरा र नाती समेत युवाभित्रै पर्दछन् । युवाको सवालमा जति बहस पैरवी हुनुपर्ने थियो त्यो भएको छैन । विश्वव्यापी आधार मान्दा नेपाली युवा उमेर घटाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सामाजिक र आर्थिक संरचनाको आधारलाई हेर्दा युवाको उमेर १८ देखि ३० वर्ष राख्नु नै सान्दर्भिक हुन्छ ।
सामाजिक, राजनीतिक एवम् आर्थिक रूपान्तरणका महŒवपूर्ण खम्बा हुन् युवा । हरेक राजनीतिक परिर्वतनमा अग्रमोर्चामा रहने युवा राजनीतिक दलको नेतृत्वमा भनेपछि परेका छन् । २००७ सालको प्रजातन्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन एवम् २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन युवाको सक्रिय सहभागिताले सफल भएको हो । युवाहरूको त्याग र बलिदानले नै देशमा राजनीतिक परिर्वतन आयो । विडम्बना राजनीति परिर्वतनसँगै सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरण हुन सकेन । जसले गर्दा लाखौं युवा रोजगारीका लागि विदेशिनु परेको छ । राजनीतिक दलका नेताले युवाहरूलाई नेतृत्वको अवसर दिएका छैनन् भने युवाहरू स्वयंले पनि हस्तक्षेप गर्न सकेका छैनन् । जसले गर्दा राजनैतिक नेतृत्वमा वयोवृद्धहरू कै वर्चश्व छ । राजनीति प्रदूषित हँुदै गएको छ । दलहरू समावेशी हुन सकेका छैनन् । त्यसैले अबको आन्दोलन दलभित्रको समावेशिता, जवाफदेहिता र पारदर्शीताका लागि हुनुपर्दछ । राजनीति नसुध्रिएसम्म अरु शासन प्रणाली सुधार हुनै सक्दैन । त्यसैले राजनीतिको शुद्धीकरणका लागि दलभित्र आवद्ध युवा र बाहिर रहेका युवाले संयुक्त रूपमा आवाज उठाउन जरुरी छ ।
अन्यौलतामा युवा आन्दोलन
हरेक परिर्वतनका नेतृत्व गरेका युवाहरू अहिले अन्यौलतामा हराएको देखिन्छ । राजनीतिक परिर्वतन त एक हदसम्म सफल भएको छ । तर समाजमा हुने गरेका विभेद र विकृति अझै हट्न सकेको छैन । युवाका हकअधिकारका लागि विगतमा राजनैतिक दलका युवा संघ संगठनहरू निकै सक्रिय थिए । सामाजिक क्षेत्रका युवा संस्था र राजनैतिक संगठनहरूको बीचमा संयुक्त आन्दोलन भयो फलस्वरूपः सरकारले युवा नीति–२०६५ जारी पनि ग¥यो । अहिले युवा क्षेत्रमा काम गर्ने सरकारी संयन्त्रको रूपमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् एवम् युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनमा छन् । तर यी तीनै निकायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । युवाको नाममा खोलिएका सरकारी होस वा गैरसरकारी सबै निकायको काम कारवाहीमा पारदर्शी एवम् जवाफदेही वृद्धि गर्न खबरदारी गर्नु आवश्यक छ । यद्यपि युवाहरूले त्यसतर्फ खास ध्यान दिएको पाइदैन ।
विगतमा सानो कुरामा पनि सडक तताउने राजनैतिक दलका युवा संगठनहरू अहिले जटिल राष्ट्रिय मुद्दामा समेत सडकमा आउँदैनन् । त्यतिमात्र कहाँ हो र प्रतिक्रिया समेत जनाउँदैनन् । आफ्नो माउ पार्टीको निर्देशन पालना गर्नु र उनीहरूकै निर्देशनमा मात्र परिचालन हुने गरेको पाइन्छ । जसले गर्दा राष्ट्रिय मुद्दाहरू ओझेलमा परेका छन् । एनसेलको कर प्रकरण, वाइडबडी जहाज प्रकरण, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, निर्मला पन्त हत्याकाण्ड, देशमा बढ्दो भ्रष्टाचार, महंगी, कालोबजारी, बेरोजगारी समस्या कुनै पनि मुद्दामा युवाहरूले सशक्त आन्दोलन गर्न सकेका छैनन् । विकृति–विसंगतिविरुद्ध पछिल्लो समयमा माइती घर मण्डलामा देखिने धर्ना र जुलुस सामाजिक सञ्जालमा पोष्ट गर्नमा मात्र सीमित भएको छ । तथ्य र प्रमाणसहितको बहस पैरवी हराउँदै गएको छ । चर्चामा आउनकै लागि हचुवाको भरमा आन्दोलन सुरु गर्ने र निश्कर्षमा नपुगी बीचमै छोड्ने प्रवृत्ति बढ्दो छ । नागरिक समाजका अगुवाहरू एवम् बौद्धिक व्यक्तित्व समेत राजनीतिक दल निकट हुँदा सामाजिक आन्दोलन कमजोर हँुदै गएको छ । राजनीतिक युवा संगठनको कार्यक्षेत्र र दृष्टिकोण प्रष्ट छैन भने सामाजिक युवा संघ–संस्थाहरू पनि परियोजनामुखी हुँदै गएका छन् । जसले गर्दा पछिल्लो समय युवा आन्दोलन सुस्ताउँदै गएको छ । अझ भनौं सामाजिक आन्दोलन दिशाविहिन भएको छ । युवाहरूले हस्तक्षेपकारी भूमिका नखेलेसम्म मुलुक सुध्रिने छैन । राजनीतिक दलभित्र या बाहिर सबै क्षेत्रमा युवाहरू रचनात्मक एवम् सृजनशील हुन जरुरी छ । आफूले नेतृत्व दावी नगरेसम्म पहिलो पुस्ताले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेवाला छैन । यथास्थितिमा परिर्वतन र विकास दुवै सम्भव छैन ।
अबको गन्तव्य
सरकारले यस वर्षलाई युवा परिचालन वर्षको रूपमा घोषणा गरेको छ । तर युवा परिचालनको ठोस कार्ययोजना विना काम हुन सकेको छैन । अन्यौलतामा बाँचेका युवालाई राहत दिन राज्यसँग विशेष कार्यक्रम छैन । त्यसैले युवाले नै आफ्नो अनुकूल परिस्थिति सिर्जना गर्न लाग्नुपर्नेछ । मेहेनत, लगनशीलता, प्रतिबद्धता र इमान्दारिताको सामूहिक प्रयासले सकारात्मक नतिजा दिन्छ । देशमा केही काम नगरी समृद्धिको सुगा रटाइले मात्र परिवर्तन आउँदैन यसका लागि त कठिन परिश्रम आवश्यक छ । विकासमा युवाहरूको साझेदारीले नै समृद्धिमा टेवा पु¥याउँछ । देशको कूल जनसंख्याको ठूलो हिस्सा ओगटेको युवावर्गको समूचित विकास, परिचालन र सहभगितामा नै मुलुकको आर्थिक सामाजिक समुन्नति निर्भर रहन्छ । पूँजी र प्रविधिको साथसाथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न सकेमा विकासले गतिलिन सक्दछ । सरकारले युवामैत्री लगानीको वातावरण र्सिजना गर्नुपर्छ । त्यसैगरी युवा रोजगारीका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम तय गर्नुपर्दछ । देशका युवालाई सबै प्रकारले सक्षम बनाउने दिशातर्फ सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ ।
युवामा लगानी गर्ने देशहरूले नै आज विश्वलाई नेतृत्व गरिरहेका छन् । युवालाई सक्षम बनाई देश विकासमा लगाउन सकेमात्र देशको मुहार फेरिन सक्छ । युवालाई उठाउन सके मात्र समाज उठ्छ, युवालाई जगाउन सके मात्र समाज परिवर्तन र मुलुक समृद्ध हुन्छ । त्यसैले युवाको क्षेत्रमा रचनात्मक कामको थालनी गर्न सरकारी, गैरसरकारी एवम् राजनैतिक संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्नु आवश्यक छ । अहिले रेमिट्न्यासको भरमा मुलुक चलेको छ । मुलुकका आर्थिक सूचकहरू कमजोर छन् । यस्तो बेला युवाहरूलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी रोजगारी एवम् उद्यमशीलता विकास हुने कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
(लेखक राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन् ।)
प्रकाशित मितिः १२ मंसिर २०७६, बिहीबार ०९:३८
साझा बिसौनी ।